जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
साेमबार राति ९ बजे चन्दननाथ नगरपालिकाकाे एयरपोर्टबाट चन्दननाथ ९ काे तलिउमतर्फ जाँदै गरेकाे लु २ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा चन्दननाथ नगरपालिका ७ खल्लाचौरमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा चन्दननाथ नगरपालिका-९ का वर्ष ४८ का जोखी सार्की रहेका छन्। उनको उपचारका क्रममा गए राति ९ बजेर ४८ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक राेहित रसाइलीले जानकारी दिए।
उनका अनुसार घाइते हुनेमा चन्दननाथ नगरपालिका ९ तलिउमका वर्ष २९ की देबु सार्की, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की, चन्दननाथ ९ तलिउमकै ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेका छन्।
ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको थियो। घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेको छ।
प्रकाशित: ३ असार २०८२ ०७:२६ मंगलबार





