१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

धवलशमशेरले बुझाए धरौटी, मिश्र सम्पर्कविहीन

फाइल।

काठमाडौं जिल्ला अदालतले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा मुद्दा चलाइएका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले तीन लाख रुपैयाँ धरौटी बुझाएका छन्।

यसअघि थुन्ने वा छाड्ने भन्ने बहसका क्रममा उनी अदालतमा उपस्थित भएका थिएनन्। सोमबार भने मागिएको धरौटी रकम बुझाएपछि उनी पुर्पक्षका लागि थुनामा बस्नुनपर्ने भएको हो।

यसअघि उनी फरार अभियुक्त थिए। फेरि पक्राउ पुर्जी जारी हुने भएपछि उनी आफैं अदालतमा उपस्थित भएका थिए। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश दिएपछि छुटेका मिश्र भने अझै सम्पर्कविहीन रहेको अदालतले जनाएको छ।

यसअघि अनुसन्धानका लागि हिरासतमा बसेका राणा क्यान्सरको उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए। त्यसबखत उनी प्रहरीले बोलाएको समयमा उपस्थित हुने सर्तमा छुटेका थिए। मुद्दा दर्ता भएपछि भने उनी अदालत गएका थिएनन्।

काठमाडौं जिल्ला अदालतले बिहीबार मध्यरातमा यसै घटनाका सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिसकेको छ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा मुख्य कसुरदारका रूपमा कमान्डर दुर्गा प्रसाईंलाई मानिएको थियो। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितलाई थुनामा पठाउने आदेश गरेको हो। अन्य ३२ जनाको हकमा धरौटी मागेर थुनामुक्त गरिएको थियो।

जिल्ला अदालतले दुर्गा प्रसाईंलाई आपराधिक उपद्रवको कसुरदार ठहर गरेको छ। ‘...आफूलाई लागेको अभियोगको सम्बन्धमा व्यक्त गरेका कुराहरू, मिसिल संलग्न मोबाइल सेटको परीक्षण प्रतिवेदन, कल डिटेल, प्रहरी प्रतिवेदन मेतका कागजात प्रमाणहरू तथा मिसिल संलग्न घटना विवरणसमेतका कागजातहरूबाट दुर्गा प्रसाईं अभियोग दाबीबमोजिम आपराधिक उपद्रवको कसुरदार हुन् भनी विश्वास गर्ने मनासिब आधार देखियो,’ बिहीबारको आदेशमा भनिएको छ, ‘पछि ठहर बमोजिम हुने गरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३७ बमोजिम मुद्दा पुर्पक्षका लागि ऐन को दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई स्थानीय कारागार कार्यालयमा पठाइदिनू।’

पुर्पक्षका लागि प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाइएको छ। अन्य प्रतिवादी धवलसमशेरसहित ३३ जनालाई भने १० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म धरौटी माग गरिएको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहितलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दामा मुद्दा दर्ता गरेको थियो।

६१ प्रतिवादीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित झन्डै साढे २० करोड रुपैयाँको बिगोदाबीसहित अदालतमा मुद्दा दर्ता भएको हो। राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो।

घटनामा ४० जनाभन्दा बढी मानिस घाइते भएका थिए। राजावादी प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा अर्बौंको भौतिक क्षति भएको थियो। घटनामा प्रहरीले एक सय आठ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो।

प्रकाशित: २ असार २०८२ २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App