२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

धवल शमशेरलाई तीन लाख धराैटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार उक्त आदेश दिएको हो।

जबरालाई प्रहरीले तीनकुनेमा भएको ‘अराजक’ प्रदर्शनको मुख्य योजनाकारको रूपमा प्रस्तुत गर्दै मुद्दा चलाएको थियो।

राजावादी आन्दोलनका क्रममा भएको उक्त प्रदर्शनमा उनी पार्टीको जनपरिचालन संयोजकको भूमिकामा थिए र सोही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो।

यसअघि स्वास्थ्य समस्याका कारण अदालतको आदेशमा रिहा भएका जबरा प्रहरीको सम्पर्कमा थिएनन्। सम्पर्कमा नरहेको भन्दै उनले ५० हजार रुपैयाँ जरिवाना समेत तिरेका थिए।

सोमबार उनी अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो र त्यसपछिको थुनछेक बहसमा न्यायाधीश खनालले धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।

उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरे। यस्तै सरकारी पक्षबाट ४ जना वकिलहरुले बहस गरेका थिए।

राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालत उपस्थित भएका छैनन्।

यसअघि जिल्ला अदालतले दूर्गा प्रसाई सहित सात जनालाई थुनामा पठाएको थियो।

प्रकाशित: २ असार २०८२ १८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App