१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ। लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो।

लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताए। “घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले भने।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो। गत चैत २९ गतेदेखि निर्माण सुरू भएको यस आयोजना दुई महिनामै निर्माण भएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले बताए।

उनका अनुसार, खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको ५० लाख ५४ हजार तीन सय चार र स्थानीयवासीको १० लाख ९२ हजार आठ सय  रूपैयाँ बराबरको श्रमदान गरी कूल ६१ लाख ४७ हजार एक सय चार रूपैयाँ लगानी भएको छ। आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बर लगायत पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइन मार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरू गरेको छ।

आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ। नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्ण रूपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उक्तमलाल श्रेष्ठले बताए।

“हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यताअनुरूप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छौं”, उनले भने। यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरूमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ।

आयोजना निर्माण सुरू भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन्। गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र छ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले बताए।

यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरूको संरक्षण गरिएको छ। योजनाका दीगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ।  

प्रकाशित: २ असार २०८२ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App