गुठिचौर सुन्दर प्राकृतिक पाटनसहितको महत्त्वपूर्ण पर्यटकीय स्थान हो । हिमाली जडीबुटी, हावापानी, वनजंगल, घाँसे मैदान, हिमालयबाट हिउँ पग्लेर आएका हिमखोला, यहाँका विशिष्टताहरू हुन् । ठुलो उपत्यका, वरिपरि हरिया डाँडा, चरनका लागि ल्याइएका गाईका बथान, पाटनमा बनाइएका भेंडीखर्क, भैंसीखर्क, गाईगोठ, हावा झैं वेगले यताउता कुदिरहने घोडाको हुल र तिनका घाँटीमा बाँधिएको घन्टीको आवाज, घुम्न आएका पर्यटको चहलपहल, हरिया घाँस र रंगीबिरंगी फूलले गुठीचौरको सौन्दर्य अझ थपिएको छ।
गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउँपालिका-२ मा पर्ने गुठीचौर पाटनमा भैंसी गोठाला,भेडा गोठालासँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको पाइन्छ। गुठिचौर हजारौ विघा जमिन भएको स्थान कचौरा आकारको छ। भेँडाबाख्रा, गाईभैंसी, घोडाखच्चड लगायतका चौपाया लिएर गुठीचौर पाटनमा पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उतिकै बढेको हो ।

असार महिनादेखि छिमेकी जिल्ला जाजरकोटबाट गाईभैँसीहरु पाल्न गुठीचौर ल्याउने गरेको किसानहरु बताउँछन्। जाजरकोट जिल्ला बारेकोट गाउँपालिका-९ सग्ले गाउँका भैंंसी गोठालाहरु पाटनमा पुगिसकेका छन्।उक्त गाउँका ४ सय घरधुरीका भैंंसी पुगेको भैंसी किसान दुधबहादुर नेपालीले बताए । उनलै भने,'मेरो ४ वटा भैंंसी छन्। प्रति भैंसीको ५ सय कर तिर्दै आइका छौँ । झन्डै गाउँका गरि लगभग ६० भन्दा बढी भैंंसी जुम्लाको यो पाटनमा पुर्याइएका छन् । यो दशकदेखि परम्परागत देखि हामी यो पाटन पालन ल्याउँँछौ । भदौ महिनाको अन्तिम तिर जाजरकोट झारिन्छ।' अर्को सग्लो गाउँका ६१ वर्षका परिकेरे बुढाले बताए ।
सोही गाउँकी भैंसी किसान ४८ वर्षकी पन्तमती बुढाका ६ वटा भैंसी छन् । उनी पनि तीन महिना खाना पुग्ने दाल, तरकारी पिठो, ओड्ने बिछ्याउने कम्बल बोकेर पुगेकी छन् । उनले भनिन्,'जाजरकोटदेखि जुम्लाको गुठिचौर पाटन पुग्न लगभग ९ दिन अनिवार्य लाग्छ । बिचमा बिचमा बिस्तारै चराउँदै पुर्याउने गरेका छौं। चाखुरे लेक हुँदै भैंंसी पाटन जुम्ला पुर्याउछौँ ।'

गुठीचौरमा गोठालाहरु उक्लिएसँगै चहलपहल निकैबेर बढेको स्थानीय उमेर परियारले बताए। उनी भन्छन्, ‘गाईभैंसीको दूध, दही, खिर खान र पाटनहरुमा घुम्न–रमाउन आन्तरिक तथा बाह्य पर्यटक पनि आउने गर्दछन्। हिजोआज दैनिकजसो सय बढी मानिस आइपुग्ने गरेको बताए । शनिबार र बिदाको दिनमा कर्मचारी,विद्यार्थीहरु पनि क्याम्पिङ गरेर पाटनमै बस्छन् । प्रायस् शुक्रबार हिँडेर गुठी चौर जाने, साँझ उतै बस्ने खसी खाने र शनिबार फर्किने गरिरहेका छन्, ‘जुम्लाको सदरमुकाम खलंगादेखि डोल्पाको शे–फोक्सुन्डो जाने सडक गुठीचौर हुँदै जाने भएकाले यहाँको सुन्दर उपत्यकाका कारण पर्यटकहरु लोभिने गर्दछन् । स्थानीय लोकप्रिय गायिका विपना सिंहको पनि टोली पुगेको थियो । नाचगान र टिकटक बनाउने पनि त्यहीँ पुग्छन्।गोठालासँगै उनीहरु प्नि पाल टाँगेर बसेको भेटिन्छ।’
पछिल्लो समय बाटो पनि ग्राभेल भइसकेको छ । अनुपम दृश्यले मानिस र प्रकृतिको साइनोलाई नजिक ल्याउँछ। गुठीचौरमा सरकारले भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना गरेको छ।गुठीचौर पुग्न जुम्लाको सदरमुकाम खलंगाबाट करिब २(३ घन्टा पूर्वतर्फ पैदल हिँड्नुपर्छ, तर अहिले गुठीचौर हुँदै डोल्पा जाने सडक यातायातको सुविधा छ । सदरमुकाम खलंगाबाट धिता, देपालगाउँ, गर्जायाङकोट हुँदै गुठीचौरको फाँटमा एक डेढ घन्टामै पुगिन्छ । यता गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा सौन्दर्यले सबैको मन जितेको बताउँछन् ।

उनी भन्छन्, ‘गुठीचौर पाटन आफैंमा सुन्दर छ। आन्तरिक तथा बाह्य पर्यटक बढेपछि यहाँ चहलपहल बढ्न थाल्छ।’यो हाम्रो लागि खुसीकुरा हो । अझै पर्यटन प्रवन्धका लागि प्रचारप्रसार आवश्यकता छ। अध्यक्ष बुढाका अनुसार गत असारमा गाउँपालिमाले गाउँपालिका( २ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको थियो । पर्यटन गतिविधिलाई बढाउँदै स्थानीयको आयस्रोत बढाउने उद्देश्य थियो । पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न गुठिचौरमा आन्तरिक तथा बाह्य पर्यटक धेरै बढाउने मस्कत थियो ।
उनले भने,‘तनाव’, ‘टेन्सन’ हुने मान्छेलाई तनावग्रस्त बनाउँछ। सुन्दर, शालीन, चारैतिरको हरियालीले यहाँ आउने जोकोहीको मन मस्तिष्कलाई शान्त तुल्याउँछ । सुन्दर, शालीन, चारैतिरको हरियालीले यहाँ आउने जोकोहीको मन मस्तिष्कलाई शान्त तुल्याउँछ।त्यसमाथि प्रकृतिसँग लुकामारी गरी रमाउने धेरैको रोजाइको विषय हुन्छ। मानिस स्वभावैले प्रकृति प्रेमी छ। गुठीचौरको पूर्वपट्टि गुठी कोल्त्या गाउँ छ । गाउँमा एक सय ५० घरधुरी छन्। फराकिलो पाटनका बीचबीचमा अस्थायी गोठहरु छन् । ती गोठमा गाई र भैंसीको दूध, दही पाइन्छ।

भेँडापालनका लागि चर्चित गुठीचौरको सुन्दरताले कसको मन लोभिँदैन र रुगुठीचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जीरोवा हिमाल आँखै अगाडि देख्न सकिन्छ। भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ।गुठीचौर घुम्न जाने पर्यटकहरु गोठालाहरुले बनाएका खाना, दूध, दही खाने गर्छन् ।’
गुठीचौर गाउँपालिकाभित्र गर्ज्याङ्गकोट, प्याकुरेबाडा, उखाडी, धल्पुरा, डाडाबाडा, थामीगाउँ, खल्लालबाडा, चौबिगारे, बिगारे, धिता, देपालगाउँ लगायतका पाटन छन् । हाल आएर विभिन्न खालका जडीबुटी मात्रै देख्न सकिने गुठीचौरमा कुनै समय जंगली जनावरहरू पनि पाइन्थे। यो डाँडामा पाँचौँले, भुत्ले लगायतका हिमाली जडीबुटी पाइन्छ।
यहाँको प्रसिद्ध गणेश स्थानको मन्दिरले रमणीय गुठी चौरको धार्मिक महत्त्वसमेत बोकेको छ। ओढारभित्र अवस्थित यो गणेश स्वरूपको ढुंगा कसैले कुँदेको नभई आफैँ उत्पत्ति भएको विश्वास गरिन्छ। बर्खामा गाई गोरु राख्ने गुठी चौर पछिल्ला वर्षहरुमा धेरैले रुचाएको आकर्षक गन्तव्य बनिरहेको छ।
प्रकाशित: १ असार २०८२ १८:२७ आइतबार





