१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पानी कचहरीमा बस्नेत सम्मानित

दिलोज्यान लगाएर वडाभरिका घरघरमा धारा पुर्‍याउन सफल शिवराम बस्नेतलाई ‘पानी कचहरी’ का क्रममा सम्मानित गरिएको छ।

आलापोटस्थित पर्यटकीय/धार्मिक क्षेत्र पाटीअड्डामा शनिबार आयोजित कार्यक्रममा संविधानसभा सदस्य तथा वाग्मती प्रदेशका पूर्वभौतिक विकास पूर्वाधारमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापा, स्थानीय समाजसेवी विष्णुप्रसाद फुयाँल लगायतले बस्नेतलाई सम्मान गरेका हुन्।

आलापोट खानेपानी व्यवस्थापन समाजका पूर्वअध्यक्ष बस्नेतकै पहलमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का सबै अर्थात् ८१७ घरमै धारा पुर्‍याउने काम भएको थियो। २ लाख ५० हजार, २ लाख र १ लाख ५० हजार लिटर क्षमताका ३ वटा ट्यांकीमा पानी जम्मा हुने र त्यो पानी वडाका सम्पूर्ण घरमा प्रत्येक दिन मिलाएर वितरण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको फुयाँलले जानकारी दिए। फुयाँलका अनुसार सिंगो नगरपालिकामा यो नै सबैभन्दा व्यवस्थित पानी वितरण कार्य हो।

करिब ५ किलोमिटर टाढाको खोलेबाट पाइपमा ल्याइएको पानी पाटीअड्डास्थित ट्यांकीमा जम्मा गरिन्छ। कुनै कारणबस पानी अवरुद्ध हुँदा वा केही समस्या आएमा समाधानका लागि जाँदा जनावर र निकुञ्ज दुवैतर्फबाट निकै समस्या भोग्नुपरेको सम्मानित बस्नेतले बताए।

मुहान खोले शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकाले यहाँका सुरक्षाकर्मीसँग निकै डराउनुपर्ने अनुभव उनको छ। तर पनि कुनै समस्यासँग नहारी पैंठेजोरी खेल्दै वडाका बासिन्दालाई पानी उपलब्ध गराउन सक्षम भएकाले निकै सन्तुष्टि मिलेको उनले बताए।

पूर्वमेयर थापाले पालिकामा आउने बजेट प्राथमिकताका आधारमा खर्च गर्ने हो भने धेरै समस्या स्थानीय तहबाटै समाधान गर्न सकिने अनुभव सुनाए। तर यसका लागि स्थानीय बासिन्दाको पनि खबरदारी र चासो हुनुपर्नेमा उनको जोड थियो।

अर्का वक्ता स्थानीय समाजसेवी विष्णुप्रसाद फुयाँलले अहिले पानी त उपलब्ध भएको तर अब बस्ती विस्तारसँगै भविष्यमा बढ्ने मागलाई ध्यानमा राखेर अघि बढ्न समाजका पदाधिकारीलाई सुझाए। स्वास्थ्य जस्तो संवेदनशील विषयसँग जोडिएकाले पानी धेरैभन्दा पनि यसको गुणस्तरीयतामा ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

समाज अहिले धेरै नकारात्मक भएको र सबैको मुखबाट खाली केही भएन मात्र भन्ने गुनासो आउने गरेको सन्दर्भ उल्लेख गर्दै संविधानसभा सदस्य फुयाँलले भने, ‘हामी कसैले केही गरेन मात्र भन्छौैं तर भइरहेको काम र त्यस्तो काम गर्नेलाई देख्दैनौं, चिन्दैनौं। यही वास्तविकता बोध गराउन यो सम्मान कार्यक्रम आयोजना गरिएको हो।’

गर्नेलाई जस दिन र पानी चिन्तनका लागि पानी कचहरी विषयक छलफल आवश्यक भएको उनको भनाइ छ। 

प्रकाशित: १ असार २०८२ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App