१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बर्खा लागेसँगै डुबानको त्रासमा मुलकोटबासी

बाढी पहिरोको मौसम सुरु हुँदै गर्दा मुलकोट बासी झस्किन्छन् । गत असोजमा आएको बाढीले प्रभावित भएकाहरू बर्खा लागेसँगै फेरि त्रसित बनेका हुन्।

पुरानै लयमा फर्कँदै गरेको सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट बासी फेरि डुबान हुने हो की भन्ने चिन्तामा छन् । गत असोजमा आएको बाढीले मुलकोट पूर्ण रुपमा सुनकोसीले पुरिएको थियो । बाढीले प्रभावित बनेर पुरिएको महिनौँ पछि मुलकोटका होटेल रिर्सोटहरु सञ्चालनमा आउन थालेका थिए । तर बर्खा लागेसँगै पुन क्षति हुने हो कि भन्ने चिन्तामा स्थानीय देखिएका छन् । गत असोजमा सुनकोसी नदीमा आएको बाढी मुलकोटस्थित बिपी राजमार्गसम्म छोपिने गरी डुब्नुका साथै मुलकोटका दर्जनौँ होटेल रिर्सोट पुरिएका थिए । पुरिएका कतिपय होटेल अझै सञ्चालनमा आएका छैनन् । केही होटेल पुन करोडौँ लगानी गरेर व्यवसायीहरूले सञ्चालनमा ल्याएका छन् ।

बस्तीलाई उचित संरक्षण हुने गरी सुनकोसीमा बाध नहुँदा सुनकोसीको बाढी बस्तीमा जुनसुकै समयमा पस्ने सम्भावना हुने स्थानीयको भनाई छ । मुलकोटका स्थानीयलाई पानी पर्ने बित्तिकै विगतको बाढीले झस्काउने गरेको छ । मुलकोटमा रहेको पशुपति आधारभूत विद्यालय सरकारी तथा गैरसकारी सघसंस्थाहरुको सहयोगमा सञ्चालनमा आएको छ ।  बाढीले पूर्ण रुपमा क्षति गरेको विद्यालय सञ्चालनमा आएपनि अझै पुरानै अवस्थामा आएको छैन । 

सुनकोसी नदी नजिकै रहेको विद्यालयलाई फेरि बाढीले क्षति हुने हो की भन्ने त्रास कायमै छ। विद्यालय सञ्चालन भएपनि पूर्ण रुपमा सुरक्षित महसुस नभएकाले बौद्धिक अपाङ्गता भएका विद्यार्थी अझै विद्यालय नआएको विद्यालयका प्रधानाध्यापक निर्मलाकुमारी श्रेष्ठले बताइन् । 'विद्यालय पूर्ण सुरक्षित भएको अनुभूति हामीलाई छैन तर पनि पूर्ण सुरक्षित बनाउन के गर्न सकिन्छ भनेर हामीले सरोकारवाला समक्ष छलफल तथा बजेट व्यवस्थापन गर्न अनुरोध गरिरहेका छौ', उनले भनिन्।

गत असोजमा आएको बाढीले सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित नेपालथोक मुलकोट लगायतका क्षेत्र पूर्ण रुपमा प्रभावित बनेको छ । त्यस क्षेत्रका हजारौँ बिगाहा खेतीयोग्य जमिन बगर भएका छन् भने सयौँ घर तथा दर्जनौँ विद्यालय प्रभावित बनेका थिए । ती विद्यालयहरु सञ्चालनमा आएपनि विद्यालयका भौतिक संरचना अझै बनिसकेका छैनन् । निजी घरहरू पुनर्निर्माण सुरु नै भएको छैन । बाढीले क्षति गरेका विद्यालयहरु बचेका भौतिक संरचनामै सञ्चालनमा आएको र थप संरचनाहरू बनाउन बाकीनै रहेको गाउँपालिकाले जनाएको छ ।

आउँदै गरेको बर्षायामलाई मध्यनजर गरेर सम्भावित तयारी गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ । सम्भावित तयारी गरिरहेका छौ गत असोजकै अवस्थामा बाढी आए फेरि ठुलो क्षति गाउँपालिकाले बेहोर्नुपर्छ कि भन्ने डर कायमै छ, अध्यक्ष दाहालले भनिन् । पालिका भित्रका रेडक्रस शाखा तथा अन्य सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको उनको भनाई छ । विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर जिल्ला विपद् व्यवस्थापन समितिले समेत तयारी तीव्र पारेको छ ।

विगतमा आएको मनसुनजन्य विपद्बाट सिर्जित सिकाई र अनुभवलाई मध्यनजर गरेर यस बर्ष सबै पालिका तथा वडाहरूलाई विपद्को सम्भावना रहने टोल बस्तीहरूलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको र त्यसको अवस्थाको सन्दर्भमा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन अनुरोध भैसकेको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए । 

प्रकाशित: ३० जेष्ठ २०८२ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App