१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दाजुको सम्झनामा बहिनीको उपहार, बाढीविरुद्ध लड्न प्रहरीलाई हतियार

अमेरिकामा डुबेर १९ वर्षीय दाजु गुमाउनुको पीडालाई शक्तिमा बदल्दै एक बहिनीको पहलमा स्थापित फाउन्डेसनले सशस्त्र प्रहरी बललाई अत्याधुनिक गोताखोर तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सामग्री प्रदान गरेको हो।

कार्यक्रममा सभामुख देवराज घिमिरेले नेपालको विपद् प्रतिकार्य संयन्त्र कमजोर रहेको र त्यसलाई स्रोतसाधनले बलियो बनाउनुपर्ने खाँचो औंल्याए।

विगतमा सीमल तालमा बस र पूर्वगृहमन्त्री माधव घिमिरे सवार जिप डुब्दा उद्धार गर्न नसकिएको जस्ता दुःखद घटना स्मरण गर्दै उनले स्रोत र साधनको अभावमा हुने जनधनको क्षति न्यूनीकरण गर्न यस्ता सहयोग महत्त्वपूर्ण हुने बताए।

२०७७ सालमा अमेरिकाको टेक्सासमा माछा मार्ने क्रममा डुबेर निधन भएका हिकारु गौतमको सम्झनामा उनकी बहिनी सोनिया गौतमको अग्रसरतामा फाउन्डेसन स्थापना गरिएको हो।

बहिनी सोनियाले ‘गो फन्ड मी’ अभियानमार्फत अमेरिकामा रहेका ३८ जना दाताहरूको सहयोगमा उद्धार सामग्री खरिद गरी हस्तान्तरण गरिएको जानकारी दिए। ‘दाजु गुमाउँदाको पीडालाई सामाजिक सेवामा बदल्ने हाम्रो प्रयास हो, उनले भने, ‘नेपालमा पानीजन्य विपद्‌मा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो चाहना हो।’

सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेलले दुःखद पृष्ठभूमिबाट जन्मिएको संस्थाले गरेको यस सुखद् र प्रशंसनीय कार्य भएको सुनाए।

हालै कोशीमा दुई गोताखोर गुमाएको र आगामी मनसुनमा बाढीपहिरोको जोखिम उच्च रहेको सन्दर्भमा प्राप्त सामग्रीले विपद् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

पौडेलका अनुसार सशस्त्र प्रहरीसँग हाल १२८ जना व्यावसायिक गोताखोर, २५ सय विशेष तालिमप्राप्त जनशक्ति र ३७ हजारको फौज विपद् उद्धारका लागि तयारी अवस्थामा छ।

सभामुख घिमिरेले फाउन्डेसनको कार्य प्रेरणादायी भएको उल्लेख गर्दै यसले विदेशमा रहेका युवालाई समेत राष्ट्रप्रतिको जिम्मेवारी बोध गराउने बताए।

फाउन्डेसनले कोभिडकालदेखि नै नेपालका विभिन्न अस्पताल, विद्यालय र समुदायमा सहयोग गर्दै आएको अध्यक्ष कमल चौलागाईंले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०८२ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App