१ असार २०८२ आइतबार
image/svg+xml
समाज

उदयपुरगढीको ऐतिहासिक गढीमा तोप राखिँदै, पर्यटन प्रवर्द्धनमा जोड

उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीमा तोप (पुरानो प्रविधिको मिसाइल) राख्ने तयारी भएको छ। गाउँपालिका मुकाम उदयपुरगढीबाट १ किलोमिटर पश्चिममा रहेको पुनर्संरचित पुरानो गढीमा तोप राख्न लागिएको गाउँपालिकाले जनाएको छ।  

पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले गढीमा तोप राख्ने निर्णय गरेको अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए। गाउँपालिकाले गढी क्षेत्रमा २ सय वर्ष पुरानो सेन वंशी राजाको पालाको बङ्कर, कोत (हातहतियार राख्ने खजाना) र पुरानो गढीको पुनर्संरचना कार्य अन्तिम चरणमा पुर्‍याएको छ।  

वरिपरि बङ्कर र बीचमा अष्टकोणाकार गढी ढुंगा कुँदेर आकर्षक रूपमा पुनर्निर्माण गरिएको छ। आठ कोणको बीचमा कोत नजिकै काली भगवतीको मन्दिर स्थापना भएको छ। तोप मन्दिर नजिकै राखिने अध्यक्ष मगरले बताए। उनले भने, ‘चालु आर्थिक वर्षको गाउँसभाबाट कार्यक्रम स्वीकृत गरी तोप राख्न लागिएको हो।’  

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले तोप गाउँपालिकाले खरिद गरिसकेको र केही दिनभित्रै आइपुग्ने जानकारी दिए। उनले भने, ‘चालु वर्षको गाउँसभाको निर्णयअनुसार ४ लाख बजेटबाट तोप खरिद गरी गढीमा राख्न लागिएको हो।’ पुनर्संरचित गढी सैन्य संरचनामा आधारित र ऐतिहासिक झल्को दिने भएकाले तोप राख्ने निर्णय भएको उनले बताए।  

गाउँपालिका प्रवक्ता सहेक विश्वकर्माले पुरानो गढीको पुनर्संरचनाको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन रहेको बताए। उनले भने, ‘गढी परिसरमा आकर्षण थप्ने काम भइरहेको छ, सोही क्रममा तोप राख्ने निर्णय भएको हो।’ आर्थिक वर्ष २०७५/७६ देखि गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा सुरु भएको पुनर्संरचना कार्य अन्तिम चरणमा पुगेको छ।  

गढी क्षेत्रको प्रवेशद्वारबाट २ सय मिटर पैदल हिँडेपछि कुँदिएका ढुंगाले बनेको आकर्षक बङ्कर पुग्नुअघिको मोडमा सेन वंशी राजाको घोडसवार शालिक स्थापना भइसकेको छ। शालिकसँगै फलामे भ्युटावर, दक्षिणतर्फ बाल उद्यान, २५–५० जनाको सभा गर्न मिल्ने टुँडिखेल र सार्वजनिक शौचालय तयार छन्।  

गढी परिक्रमा गर्ने बङ्कर छेउमा आकर्षक फूलबारी, फलामे पिङ र आराम गर्ने फलैँचाहरू पनि बनेका छन्। उपाध्यक्ष जीतबहादुर खड्काले तोप राखेपछि पर्यटकको मन थप लोभिने अपेक्षा गरे।  

समुद्री सतहबाट एक हजार १८५ मिटर उचाइमा रहेको यो क्षेत्रमा चिसो हावापानी र वर्षभरि सितल हावा चल्ने भएकाले पर्यटन विकासको प्रचुर सम्भावना छ। मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डबीच उदयपुरगढीको ६ नं. वडा नेपालटार बजारबाट ९ किलोमिटर दूरी र आधा घण्टामा यो ठाउँ पुग्न सकिन्छ।  

गर्मी बढेसँगै सितल हावापानीको मजा लिन आन्तरिक पर्यटकको आगमन बढेको छ। गाईघाट, कटारी, सिरहा, सप्तरी, धनुषा, जनकपुर र विराटनगरबाट शुक्रबार साँझ गढी आएर चिसो मौसम र रैथाने खानाको स्वाद लिएर आइतबार बिहान फर्कने पर्यटकको संख्या बढ्दै गएको स्थानीय कर्मचारी शमशेर राईले बताए।

प्रकाशित: २८ जेष्ठ २०८२ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App