भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोटमा घर-घरमा जडान गरिएका धारामा पानी नआए पनि खानेपानीको महसुल नियमित तिर्नुपर्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
एकातिर न्यूनतम मासिक महसुल तिर्नुपर्ने र अर्कोतिर ट्याङ्करको महँगो पानी किनेर गुजारा चलाउनुपर्ने दोहोरो मारमा परेको उनीहरूको गुनासो छ।
मंगलबार वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले धारा रित्तो भए पनि बिल आइरहने समस्या चर्को रूपमा उठाएका थिए।
‘घरमा धारा छ, तर पानी आउँदैन, बिल मात्रै आउँछ,’ सहभागी सरोज कार्कीले आफ्नो पीडा सुनाउँदै भने, ‘पानी नआए पनि न्यूनतम मासिक १२५ रुपैयाँ तिर्नैपर्छ। यो अन्याय भयो।’
स्थानीयका अनुसार, धाराको पानीमा निर्भर रहन नसकेपछि अधिकांश बासिन्दा ट्यांकरबाट पानी खरिद गर्न बाध्य छन्, जसले उनीहरूको आर्थिक भारसमेत बढाएको छ।
कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र केसीले वडाभित्र पानीको स्रोत नभएकाले यो समस्या आएको स्वीकार गरे।
उनले मेलम्चीको पानी वितरण प्रणालीमा जोडिएपछि मात्रै बालकोटवासीको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने आश्वासन दिए।
‘नगरपालिकाले वडा नं. १ देखि ६ सम्म दैनिक २४ लाख लिटर पानी वितरण गर्ने सहमति गरेको छ, यसले केही राहत दिनेछ,’ उनले सुनाए।
यसअघिका वडा अध्यक्षले वडाका ठाउँ ठाउँमा बोरिंङ गरी पानी निकाल्न खोज्दा, पानी नभएर योजना असफल भएकाले आफ्नो कार्यकालमा त्यसका लागि खर्च नगरेको उनले स्पष्टीकरण दिए।
साथै, तीव्र सहरीकरण भइरहेको बालकोट क्षेत्रलाई ‘भक्तपुरको बानेश्वर’ को रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेले एक साताभित्रै बालकोटमा सिसिटिभी जडान गरिसक्ने प्रतिबद्धता व्यक्त गरे।
सार्वजनिक सुनुवाइमा वडाले पछिल्लो एक वर्षमा गरेका विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक कार्यबारे वडा सचिव शेषराज दाहालले जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडाका जनप्रतिनिधि, कर्मचारी तथा खानेपानी, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरूले दिएका थिए।
प्रकाशित: २७ जेष्ठ २०८२ २१:२३ मंगलबार