काठमाडौं महानगरपालिकाले आर्थिक मितव्ययिताको सिद्धान्तविपरीत आफ्ना जनप्रतिनिधिहरूका लागि सुन र चाँदीजस्ता बहुमूल्य धातुको लोगो बनाउन आधा करोड रुपैयाँभन्दा बढी खर्च गरेको विषयमा महालेखा परीक्षकले प्रश्न उठाएको छ।
महालेखा परीक्षकको कार्यालयले यस खर्चलाई ‘अनुचित’ भन्दै महानगरको खर्च गर्ने प्राथमिकतामाथि प्रश्न उठाएको हो।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार महानगरले १६२ जना पदाधिकारीका लागि लोगो बनाउन कुल ५५ लाख ८९ हजार ४१२ रुपैयाँ खर्च गरेको छ।
यसका लागि ४८६ ग्राम सुन र १९४४ ग्राम चाँदी खरिद गरिएको थियो। प्रतिवेदनले सामान्य प्रकृतिको लोगो बनाएर खर्च कटौती गर्न सकिने अवस्थामा पनि विलासितामा रकम खर्च गरिएको भन्दै प्रश्न उठाएको हो।
महालेखाले प्रतिवेदनमा भनेको छ, ‘लोगो निर्माण गर्दा खर्चमा मितव्ययिता हुनेगरी सामान्य प्रकृतिको बनाउन सकिनेमा सुन र चाँदी राखी गरेको खर्च औचित्यपूर्ण देखिएन।’

काठमाडौं महानगरपालिका वडा नम्बर-१७ का अध्यक्ष नविन मानन्धरका अनुसार उक्त लोगो पहिचान र औपचारिकताका लागि आवश्यकता अनुसार बनाइएको बताउँछन्। उनका अनुसार, उक्त लोगो विशेष गरी नगरसभा तथा कार्यपालिका बैठकजस्ता औपचारिक कार्यक्रमहरूमा लगाउनका लागि बनाइएको हो।
‘यो लोगो माननीयज्यूहरूले लगाउने जस्तै हो। नगरसभामा सबै जनप्रतिनिधिहरू नियमित उपस्थित नहुने र सबैले एक-अर्कालाई नचिन्ने हुँदा पहिचानमा सहजताका लागि यो आवश्यक थियो,’ अध्यक्ष मानन्धरले नागरिक न्युजसँग भने, ‘यसले कर्मचारी र अन्य सरोकारवालासँगको सम्बन्धमा पनि एकरूपता र औपचारिकता ल्याउँछ।’ उनले उक्त लोगो ड्रेसमा लगाउने पिन भएको जानकारी दिए।
महालेखाको प्रतिवेदनअनुसार प्रति लोगो औसतमा ३४,५०२ रुपैयाँ पर्न आएको देखिन्छ।
प्रकाशित: २७ जेष्ठ २०८२ १९:२३ मंगलबार