२ असार २०८२ सोमबार
image/svg+xml
समाज

गर्मी बढेसँगै रौतहट देखिन थाल्यो खानेपानीको समस्या

फाइल तस्बिर

अत्यधिक गर्मी र सुख्खा बढ्दै जाँदा खानेपानीको समस्या पनि बढ्दै जान थालेको छ।

रौतहटको कटहरिया नगरपालिकाको मुख्य बजारमा खानेपानीको समस्या देखिएको छ। बजार क्षेत्र र बस्तीमा खानेपानी उपलब्ध गराइरहेको वडा नम्बर ५ मा रहेको पानी ट्यांकीमा समस्या आएपछि सयौँ परिवारमा खानेपानीको समस्या देखिएको हो ।

करिब दुई हप्तादेखि खानेपानीको समस्या देखिएको स्थानीयले बताएका छन् । नियमित रुपमा पानीको आपूर्ति हुन छाडेपछि स्थानीयवासी समस्या परेको स्थानीय रविन्द्र प्रजापतिले बताए।

करिब दुई हप्तादेखि धारामा पानी नआउँदा निकै समस्या भएको प्रजापतिको भनाइ छ । यसै गरी स्थानीय पुनम देवीले पनि धारामा पानी नआएपछि बाहिरबाट किनेर खान बाध्य भएको बताएकी छिन् ।

धारामा पानी आउन छाडेपछि पानी उद्योग तथा पानी बेपारीलाई निकै फाइदा भएको छ । केही वर्षदेखि धाराको पानी प्रयोग गर्दै आएका स्थानीयवासीले हाते पम्प (कलधार) प्रयोग गर्न छाडिसकेका छन् । खानेपानीको पानी आपूर्ति बन्द हुँदा जारको पानीका साथै बजारमा पाइने बोतलको पानी किनेर पिउन स्थानीयवासी बाध्य भएका छन् । बजारबाट महँगो मूल्यमा पानी किनेर खानुपर्दा दैनिक खर्च धान्न मुस्किल बजारका गरिब परिवारलाई निकै समस्या परेको छ। 

खानेपानीको विषयमा नगरपालिकालाई पटक पटक जानकारी गराइएको छ तर समाधान नभएको गुनासो रहेको छ । नगर प्रमुख अजय प्रकाशले भने खानेपानीको समस्या समाधान भइरहेको बताएका छन् ।

अत्यधिक गर्मी चर्किएपछि गाउँघरका चापाकल सुक्न थालेको छ । चापाकल सुक्न थालेपछि खानेपानीको समस्या गाउँघरमा पनि देखिन सुरु भएको छ । अत्यधिक चर्को घाम र गर्मीको कारण पानीको माग बढी भएको बेला जिल्लाको धेरै ठाउँमा खानेपानीको समस्या देखिँदै आएको छ। 

प्रकाशित: २७ जेष्ठ २०८२ १८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App