पौने दुई अर्ब रुपैयाँको व्यावसायिक ऋण स्वीकृत गराउन भारतीय नागरिकलाई बिचौलियाका रूपमा प्रयोग गरी १९ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्र अनुसार, डा. अधिकारीले रुपन्देहीमा सञ्चालन हुन लागेको एक होटल परियोजनाको ऋण प्रक्रिया सहजीकरण गरिदिने भन्दै व्यवसायीसँग घुस रकम लिएका थिए।
रुपन्देहीको सिद्धार्थनगर-१, बेलहियामा ‘भुसाल हस्पिटालिटी’ ले सञ्चालन गर्न लागेको रेडिसन होटल परियोजनाका लागि नेपाल बैंकबाट १ अर्ब ७७ करोड २९ लाख ऋण लिने प्रक्रिया अघि बढेको थियो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यही क्रममा तत्कालीन अध्यक्ष अधिकारीले हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा अंकितसँग व्हाट्सएपमार्फत निरन्तर सम्पर्क स्थापित गरेका थिए।
ऋण सहजीकरणको आश्वासन दिँदै अधिकारीले भारतीय नागरिक ‘लक्की’ भन्ने खुसनसिब अन्सारीसँगको मिलेमतोमा घुस रकम माग गरेको आयोगको दाबी छ। २०८१ भदौ ३० गते रकम माग भएपछि भुसाल पक्षले दुई किस्तामा रकम उपलब्ध गराएको थियो।
पहिलो किस्तामा ७ लाख रुपैयाँको चेक जारी गरिएको थियो। बाँकी १२ लाख रुपैयाँ भने अमृत भुसालको एभरेष्ट बैंक खाताबाट ‘अनन्या इन्टरप्राइजेज’ नामक कम्पनीको सिटिजन बैंक खातामा रकमान्तर गर्न लगाइएको थियो।
यसरी फरक-फरक माध्यमबाट सङ्कलन गरिएको सम्पूर्ण १९ लाख रुपैयाँ बिचौलिया अन्सारीमार्फत डा. अधिकारीसम्म पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ।
अख्तियारका प्रवक्ता पौडेलले २०८१ माघ २३ गते डा. अधिकारीको निवासमा छापा मारी घुस लेनदेन पुष्टि गर्ने सबुत-प्रमाणहरू फेला पारेको जानकारी दिए। उनका अनुसार बरामद गरिएका कागजातमा घुसबापत लिइएको चेकको विवरण र रकमान्तर गरिएको रकमसम्बन्धी प्रमाणसमेत समावेश छन्।
आयोगले घुस लिने-दिने कार्यमा संलग्न पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ।
प्रकाशित: २६ जेष्ठ २०८२ १८:२२ सोमबार