१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

रजिस्ट्रारको आफन्तलाई जागिर दिने विज्ञापनप्रति कर्मचारीको आन्दोलन

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले आफन्तलाई जागिर दिन एकलौटी विज्ञापन गरेको आरोपमा कर्मचारी आक्रोशित भएका हुन्। रजिस्ट्रार महतको कार्यकाल सकिन लाग्दा यस्तो कार्यको चर्को आलोचना भएको छ।  

जुम्ला शिक्षण अस्पतालका कर्मचारीले पत्रकार सम्मेलनमार्फत रजिस्ट्रारको छोटो कार्यकालमा बारम्बार विज्ञापन खोलेर आफ्ना नजिककालाई जागिर दिन खोजिएको आरोप लगाए। ‘प्रतिष्ठानको गरिमा ध्वस्त पार्ने काम भएको छ, यो राम्रो होइन,’ कर्मचारीको भनाइ छ। जेठ २३ गते प्रतिष्ठानको प्रणालीविपरीत एकलौटी विज्ञापन खोलिएको भन्दै कर्मचारीले ध्यानाकर्षणसहित विरोध जनाएका छन्।  

प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकार भेटमा प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जेठ २३ गते प्रतिष्ठानको वेबसाइटमा प्रकाशित विज्ञापनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ कर्मचारीले यो विज्ञापनपछि निमित्त उपकुलपति डा. डवलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। यो पत्र प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति तथा स्वास्थ्य मन्त्रीलाई पनि बोधार्थ पठाइएको छ।  

कर्मचारीका अनुसार, विज्ञापन कार्यकारी परिषदबाट स्वीकृत नगरी रजिस्ट्रारले एकल निर्णयमा खोलेका छन्। विज्ञापनमा प्रतिष्ठानको स्वीकृत दरबन्दी किताबमा नभएका पदहरू समेत समावेश गरिएको छ। ‘प्रतिष्ठानको आर्थिक भार नहेरी दरबन्दी किताबमा नभएका पदको विज्ञापन गर्नु रजिस्ट्रारको गलत नियत हो,’ कर्मचारीको दाबी छ।  

यसअघि वैशाख २३ गते नै उपकुलपति डा. धामीलाई विज्ञापन रद्द गर्न ध्यानाकर्षण गराइएको थियो। कर्मचारीले गल्ती नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘नसच्याए कानुनी बाटो रोज्छौं,’ उनीहरूले भने। जेठ २६ गतेदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गर्ने र विज्ञापन रद्द गर्न माग गर्दै कर्मचारी संगठनले पनि विरोध जनाएको छ।  

कर्मचारी कल्याण समिति अध्यक्ष रामाकान्त उपाध्याय र कर्मचारी युनियन कर्णाली प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिशचन्द्र रावतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेठ २३ गते ध्यानाकर्षण गराए पनि कुनै प्रतिक्रिया नआएपछि २६ गतेदेखि इमर्जेन्सीबाहेकका शैक्षिक र प्रशासकीय कार्यक्रम बन्द गरिनेछ।’  

जेठ २३ गते प्रतिष्ठानको वेबसाइटमा रजिस्ट्रारले एकल रूपमा विज्ञापन गरेका पदहरूमा प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, एमए इन सोसियोलोजीमा एक एसोसिएट प्रोफेसर, एक असिस्टेन्ट प्रोफेसर र तीन वर्ष अधिकृत तहको अनुभव भएको व्यक्तिका लागि सातौं तहको खरिद अधिकृत पद समावेश छन्। ‘खरिद अधिकृत पद प्रतिष्ठानको दरबन्दी र कार्यकारी समितिको निर्णयमा छैन,’ वरिष्ठ प्रशासकीय अधिकृत शाहीले बताए। उनले स्थायी परीक्षा खोलिसके पनि सातवटा विज्ञापन गरिएको जानकारी दिए।  

रजिस्ट्रार महतको कार्यकाल असार पहिलो साता सकिँदैछ। ‘यो नौलो कुरा होइन, बारम्बार आन्दोलन गर्नुपरेको छ। रजिस्ट्रारको कार्यकाल विवादमै बित्ने देखिन्छ,’ कर्मचारीले भने। ‘तैपनि विज्ञापन खोलिरहन्छन्।’  

यता, निमित्त उपकुलपति डा. डवलबहादुर धामीले जेठ २३ गतेको विज्ञापनबारे कर्मचारीले जानकारी गराएपछि गम्भीर ध्यानाकर्षण भएको बताए। ‘म अहिले काठमाडौंमा छु,’ उनले भने, ‘रजिस्ट्रार नृपेन्द्र महतसँग के भएको हो भनेर लिखित जानकारी मागेको छु।’

प्रकाशित: २६ जेष्ठ २०८२ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App