१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

लिमचुङबुङका वडा-वडामा पशु स्वास्थ्यसम्बन्धी घुम्ती शिविर

पशुपन्छी शिविरमा गाईको उपचार गर्दै स्वास्थ्यकर्मीहरू। तस्बिरः महेश्वर/नागरिक

लिमचुङबुङ गाउँपालिकाले वडा-वडामा घुम्ती शिविरमार्फत कृषकहरूलाई पशुपन्छी स्वास्थ्यबारे जानकारी गराइरहेको छ। पशुपन्छी पालनमा कुनै खालको स्वास्थ्य समस्या आउन नदिन र व्यावसायिक पशुपन्छी पालन गर्न किसानलाई प्रोत्साहन गराउने उद्देश्यले वडागत घुम्ती शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

जेठ २६ गते सोमबारसम्म सञ्चालन हुने ‘निःशुल्क पशुपन्छी सचेतना तथा स्वास्थ्य घुम्ती शिविर’ गत २२ गतेदेखि सुरु भएको गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक गृष्म राईले बताए। उनका अनुसार पहिलो दिन २ नं. वडाको तामलिछास्थित वडा कार्यालयमा आयोजित शिविरमा ८३ घरधुरी कृषकले सेवा पाएका छन्। त्यस्तै दोस्रो दिन १ नं. वडा बाँसबोटेको डुम्रे डाँडामा आयोजित शिविरबाट ६१ घर कृषक परिवार लाभान्वित भएको प्राविधिक राईले बताए। 

तेस्रो दिनको शिविर ४ नं. वडा बलम्ताको स्वास्थ्य भवनमा सम्पन्न भएको छ। त्यहाँको शिविरमा बलम्ताका ६२ घरधुरी कृषकले पशुपन्छी स्वास्थ्यसम्बन्धी परामर्श सेवा पाएका छन्। अन्तिम दिनको शिविर वडा नं. ५ जाँतेस्थित वडा कार्यालय भवनमा आयोजना हुनेछ।

गाउँपालिका कृषि शाखा प्रमुख मानबहादुर श्रेष्ठका अनुसार शिविरमा पशुतर्फ भैँसी, गाई, बाख्रा, सुङ्गुर, कुकुर, बिरालो तथा पन्छीतर्फ, कुखुरा, परेवा, हाँसलगायत पशु चौपायालाई लाग्नसक्ने सम्भावित रोग र त्यसको उपचार विधिबारे कृषकलाई जानकारी गराउने गरिएको छ। त्यस्तै पशु बन्ध्याकरण, प्रजनन, गर्भवती पशुको प्रसूति गराउने, नवजात पशुको सुरक्षा र स्याहार सुसार गर्ने तथा कुकुर बिरालाले टोकेमा रेबिज सुई हान्ने तरिका र आवश्यक्ताबारे पनि कृषकलाई जानकारी दिइँदै छ।

कृषकले ल्याएका बिरामी पशुपन्छीलाई शिविरस्थलमै चिरफार (शल्यक्रिया)सम्मको उपचार सेवा दिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गर्ने व्यवस्थासमेत गरिएको श्रेष्ठले बताए।

कृषि शाखाले गाउँसभाले पारित गरेको चालु आर्थिक वर्षको स्वीकृत योजना अनुसार शिविर सञ्चालन गरेको जनाएको छ। ५ वटै वडामा सञ्चालित शिविर आगामी वर्षहरूमा पनि निरन्तरता दिदै लाने योजना गाउँपालिकाले बनाएको छ। 

प्रकाशित: २६ जेष्ठ २०८२ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App