कनकाई नगरपालिका–२ मा करेन्ट लागेर आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्।
स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा करेन्ट लागेको थियो। घाइते हुनेमा ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की छन्।
घाइतेको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कमल गाउँपालिका–२ तोपगाछीमा बाथरुममा चिप्लिएर ९३ वर्षीय नरप्रसाद पौडेलको मृत्यु भएको छ। आफ्नै घरको बाथरुमबाट निस्कने क्रममा चिप्लिएर लडेपछि उनी घाइते भएका थिए।
उनलाई उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। रासस
प्रकाशित: २३ जेष्ठ २०८२ २१:५२ शुक्रबार





