१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

धराशायी बन्दै ऐतिहासिक इलाम चिया बगान, निजीकरण खारेजीको माग

नेपालको पहिलो र ऐतिहासिक इलाम चिया बगान निजीकरणपछि संरक्षण अभावमा धराशायी बन्दै गएको छ।

बगानको अस्तित्व नै संकटमा परेपछि इलाम नगरपालिकाले निजीकरण खारेज गरी यसको व्यवस्थापन स्थानीय तहलाई दिन सङ्घीय सरकारसँग माग गरेको छ।

विश्व वातावरण दिवसको अवसरमा बिहीबार नगरपालिकाले बगान क्षेत्रमा चियाका नयाँ बिरुवा रोपेर सांकेतिक संरक्षण प्रयास थालेको हो।

तत्कालीन सरकारले २०५७ सालमा इलामका चार र झापाका तीन चिया बगानसहित कारखाना (नेपाल चिया विकास निगम) त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि लिजमा दिएको थियो।

जसमा नेपालमै पहिलो पटक चिया रोपिएको इलाम चियाबारी र नेपालकै पुरानो चिया कारखानासमेत पर्दछन्। तर, लिज सम्झौताको करिब २४ वर्ष बित्दा बगानको उचित संरक्षण र सम्बर्द्धन हुन नसकेको, चियाका पुराना बोट मासिए पनि नयाँ नलगाइएको, ऐतिहासिक कारखानाको स्वरूप नै बदल्न खोजिएको र स्थानीय सरकारलाई बुझाउनुपर्ने राजस्वसमेत नतिरिएको आरोप नगरपालिकाले लगाएको छ।

यही सन्दर्भमा विश्व वातावरण दिवसको कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भीर हुन आग्रह गर्दै निजीकरणको निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए।

उनले उक्त निजीकरण हुँदाका बखत इलामबाट प्रतिनिधित्व गर्ने तत्कालीन सांसद केशव थापालाई समेत यसको संरक्षणमा पहल गर्न ध्यानाकर्षण गराउका थिए। पूर्वसांसद थापाले पनि निजीकरणपछि चियाबारीको व्यवस्थापन कमजोर बनेको स्वीकार गरेका थिए।

इतिहासकार युद्धप्रसाद वैद्यका अनुसार, तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट उपहारस्वरुप ल्याएको चिया १९२० सालमा इलाममा रोपेपछि यहाँ चिया खेतीको सुरुवात भएको थियो भने यही बगानभित्र २०३५ सालमा कारखाना स्थापना गरी प्रशोधन थालिएको थियो।

नगरपालिकाले यही ऐतिहासिक धरोहर मासिन लागेको भन्दै संरक्षणका लागि बिरुवा रोपेको हो। यद्यपि यसबाट हुने उत्पादन लिज लिने पक्षलाई नै जानेछ। व्यवस्थापन पक्ष नेपाल चिया विकास निगमले भने नगरपालिकालाई बिरुवा नरोप्न पत्र पठाउँदै आफूहरूले वार्षिक रूपमा बिरुवा रोप्ने गरेको दाबी गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०८२ २१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App