सप्तकोशी नदीमा बिहीबार अपराह्न विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई जना प्रशिक्षक गोताखोर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा डोटीका जवान सुरज साउद र झापाका हरदेव राजवंशी रहेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ। कोशी ब्यारेज क्षेत्रमा उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।
सशस्त्र प्रहरी बलले बेपत्ता गोताखोरको खोजीका लागि थप दक्ष टोली परिचालन गरिएको बताएको छ। बेपत्ता साउद र राजवंशी दुवै गोताखोरका अनुभवी प्रशिक्षक भएको र उनीहरूले बिहीबार बिहानदेखि नै अन्य प्रशिक्षार्थीलाई तालिम दिइरहेका थिए।
घटना बिहीबार अपराह्न करिब ४ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ५४ र ५५ नम्बर ढोकाको उत्तरतर्फको क्षेत्रमा भएको हो।
सशस्त्र प्रहरीको मधेश प्रदेश विपद्जन्य उद्धार टोलीले आयोजना गरेको उक्त तालिममा उनीहरू प्रशिक्षार्थीलाई अभ्यास गराइरहेका थिए।
पछिल्ला केही दिनयता कोशीमा पानीको बहाव बढेको र ब्यारेजका दक्षिणी ढोकाहरू खुला रहेकाले नदीमुनि पानीको बहाव तीव्र भएको अनुमान गरिएको छ।
अक्सिजन सिलिन्डरसहित अभ्यासमा रहेका उनीहरू पानीको सतहमुनि बनेको भूमरीमा फसेर बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
प्रकाशित: २२ जेष्ठ २०८२ १९:४८ बिहीबार





