१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सडक विभागद्वारा अहिलेसम्म ३६ हजार किमि सडक निर्माण

सडक विभागले स्थापनाकालदेखि २०८१ फागुनसम्म देशभरिमा रणनीतिक सडक सञ्जाल र राष्ट्रिय राजमार्ग गरी १९ हजार एक सय ६३ किलोमिटर कालोपत्र, आठ हजार दुई सय चार किलोमिटर खण्डास्मित र आठ हजार सात सय ६५ किलोमिटर कच्ची सडक गरी कुल ३६ हजार एक सय ३२ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। 

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार संघीय सरकारले सडक विभागसहित प्रदेश सरकार, स्थानीय सरकार, साविकका जिल्ला विकास समितिलगायत विभिन्न निकायले समेत बनाएको कुल सडकको लम्बाइ करिब एक लाख किमि पुगेको छ। २०७६ सालमा बसेको मन्त्रिपरिषद्को बैठकले ८० वटा राजमार्गलाई राष्ट्रिय राजमार्गको रूपमा नामकरण गरेको छ। विभागले अहिले ८० वटा राष्ट्रिय राजमार्ग र सहायक मार्ग हेर्ने गरेको छ। अन्य सडक प्रदेश सरकार र स्थानीय सरकारहरूले हेर्न गरेका छन्। 

अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमा उल्लेख गरे अनुसार २०८१ असारसम्म देशभरि १८ हजार आठ सय आठ किलोमिटर कालोपत्र, आठ हजार २४ किलोमिटर खण्डास्मित र आठ हजार ६ सय ५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार चार सय ९० किलोमिटर रहेको थियो। 

२०८१ असारबाट २०८१ फागुनसम्म सडकको कुल लम्बाइ ३५ हजार चार सय ९० बाट ३६ हजार एक सय ३२ किलोमिटर पुगेको छ। यस हिसाबबाट आव २०८१/८२ को फागुनसम्म १०७ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा एक सय ८० किलोमिटर सडक खण्डास्मित स्तरमा र तीन सय ५५ किलोमिटर सडक कालोपत्र स्तरमा स्तरोन्नति भएको छ।

राष्ट्रिय राजमार्गको प्रगति कहाँ पुग्यो?
आर्थिक सर्वेक्षणमा उल्लेख गरेअनुसार मध्यपहाडी लोकमार्गको कुल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार चार सय ५२ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। त्यसमध्ये २०८१ फागुनसम्म थप ११ किलोमिटर सडक कालोपत्र भई एक हजार चार सय ६३ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने एक सय ३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माण सम्पन्न भएको मन्त्रालयको भनाइ छ। 

हुलाकी लोकमार्गको कुल लम्बाइ एक हजार आठ सय ५७ किलोमिटर हो। त्यसमध्ये २०८१ असारसम्म एक हजार दुई सय ५९ किलोमिटर (लिंक सडकसहित) कालोपत्र सम्पन्न भएको मन्त्रालयको भनाइ छ। २०८१ को फागनुसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार दुई सय ९१ किलोमिटर पुगेको छ। यस राजमार्ग अन्तर्गतका दुई सय ५० पुलमध्ये २०८१ फागुनसम्म एक सय ४२ पुलको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। 

उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ चार सय ४७ किलोमिटर हो। यो सडक चितवनको गैंडाकोटबाट सुरु हुन्छ। गैडाकोट– राम्दी– मालढुङ्गा खण्ड दुई सय ४५ किलोमिटर सडक खण्डमध्ये २०८१ फागुनसम्म एक सय ९५ किलोमिटर सडक कालोपत्र भएको छ। 

२०८१ असारसम्म मालढुंगा–बेनी– जोमसोम–कोरला खण्डअन्तर्गत ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र सडक र १० पुलको निर्माण सम्पन्न भएको जनाइएको छ। २०८१ फागुनसम्म ६५ किलोमिटर सडक कालोपत्र भएको छ भने १३ वटा पुल निर्माण भएको भौतिक पूर्वाधार मन्त्रालयको भनाइ छ। 

कर्णाली करिडोरको कुल लम्बाइ दुई सय ६९ किलोमिटर हो। त्यस अन्तर्गत २०८१ फागुनसम्म २६८.३ किलोमिटर ट्र्याक निर्माण भएको छ। कोसी करिडोरको कुल लम्बाइ एक सय ६२ किलोमिटर हो। यसअन्तर्गत ८९ किलोमिटर सडक ग्राभेल भएको छ भने यस खण्डमा पाँच किलोमीटर पक्की सडक निर्माण भएको छ। 

यस खण्डमा ११ पुल निर्माण भएको सर्वेक्षणमा जनाइएको छ। गल्छी –स्याफ्रुवेसी–रसुवागढी सडक नेपालको रणनीतिक सडक हो। यस सडकको २०८१ फागुनसम्म ३३९ किलोमिटर सडक कालोपत्र र १२७ पुल निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ। 

पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस) मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यले सात वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति भने निकै सुस्त छ। आयोजनाका अनुसार एक वर्षमा यसको प्रगति करिब दुई प्रतिशत मात्र भएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म यस राजमार्गको भौतिक प्रगति ५२ प्रतिशत थियो।

आव २०८१/८२ मा यसको प्रगति करिब दुई प्रतिशत बढेर ५४ प्रतिशत पुगेको विभागले जनाएको छ। मदन भण्डारी राजमार्ग बनाउन काम सुरु भएको सात वर्ष पुगिसकेको छ। सात वर्षमा यस आयोजनाको प्रगति करिब आधा मात्र भएको छ। त्यसैले तोकिएको समयमा आयोजनाको काम पूरा नहुने निश्चित भएको छ भने भइरहेको काम पनि निकै सुस्त छ। 

आव २०८१/८२ मा यो आयोजनामा तीन वर्ष म्याद थप गरिएको थियो। तीन वर्षे म्याद थप गर्न आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको प्रस्ताव अघिल्लै आवमा पास भइसकेको छ। तीन वर्षमा काम पूरा भए २०८५ साल असार मसान्तसम्म यस आयोजनाको अन्तिम म्याद तोकिएको छ। तीन वर्षभित्र पनि काम पूरा हुनेमा आयोजनाकै कर्मचारीहरू विश्वस्त छैनन् ।

प्रकाशित: २० जेष्ठ २०८२ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App