शुक्रबार रातिको भारी वर्षापछि लेउती खोलाको बाढीले धनकुटाको कोशी लोकमार्ग भत्काएको छ। साँघुरीगढी-६ फेदीमा बाढीले करिब १०० मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार रातिको झरीले २५-३० मिटर बाटो भत्काएको छ। बाढीले चौबीसे-४ मा छरुवा खोलाले तमोर करिडोरको सडक भत्काउँदा धनकुटा-पाँचथर-ताप्लेजुङ यातायात ठप्प छ। साँघुरीगढी–६ को नमस्ते झरना नजिकै रुख र पहिरोले अवरुद्ध भएको सडक भने खुलाइएको छ।
निरन्तर वर्षाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, शुक्रबारदेखि मनसुन सुरु भएको छ। पहिलो दिन पूर्वी नेपालमा १२ घण्टामा २०३ मिलिलिटरभन्दा बढी पानी परेको छ।
प्रकाशित: १७ जेष्ठ २०८२ ०८:४७ शनिबार





