२४ असार २०८२ मंगलबार
image/svg+xml
समाज

बर्खामा बर्बादी : बाढी‍-पहिरोको जोखिम र हाम्रो तयारी

काठमाडौंको चोभारस्थित टौदहमा हालै गरिएको मनसुनजन्य विपद् प्रतिकार्यको अभ्यास। तस्बिर: नागरिक

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको यस्तो प्रक्षेपणपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो तयारी थालिसकेको छ। प्राकृतिक विपत्लाई रोक्न सकिँदैन तर यसबाट हुने धनजनको क्षतिलाई भने कम गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर विपद् पूर्वतयारी तथा प्रतिकार्यमा प्राधिकरण लागेको प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले जानकारी दिए।

यस वर्ष मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित प्राधिकरणको आकलन छ। मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा यस्तो अनुमान गरेको हो।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउन सक्ने आकलनसहितको कार्ययोजना निर्माण गरिएको प्रवक्ता केसीले बताए। केसीका अनुसार चोभार गल्छी साँघुरो भएका कारण काठमाडौं उपत्यकामा जनधनको क्षति हुन सक्ने आकलन गर्दै सेनाको सहयोगमा सो अवरोध हटाउने निर्णय गरिएको छ।

 ‘हामीले यस वर्षको मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन गरेका छौं । मनसुनबाट देशका सबै प्रदेश प्रभावित हुने भएकाले त्यसैअनुसारको तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी तोकिएको छ,’ उनले भने, ‘मौज्दात सामग्री कति छ, थप कति चाहिन्छ भन्ने आकलन गरेर कार्ययोजना तयार पारेका हौं।’

यही जेठ १४ गते गृहमन्त्री रमेश लेखक अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ।

बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात तथा दक्ष जनशक्तिको विवरण समेटिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरेको हो।

गत वर्ष मुलुकले दशककै भयावह बाढीको सामना गर्नुपरेको थियो। बाढीमा परी दुई सय ३९ जनाले ज्यान गुमाएका थिए भने १७ हजार जनाभन्दा बढीको उद्धार गरिएको थियो। बाढीका कारण ३९ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका थिए। झापा र सुनसरी बाढीबाट सबैभन्दा बढी प्रभावित भएका थिए।

विपद् न्यूनीकरणमा चुनौती कायमै रहे पनि स्थानीय तथा प्रदेश सरकारका निकायहरूले जोखिम क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको सुदृढीकरण र नागरिक सचेतनामा जोड दिन थालेका छन्। विपद्का कारण हुने जनधनको क्षति रोक्न दीर्घकालीन योजना र पूर्वतयारी आवश्यक रहेको विज्ञहरूको राय छ। सोही रायअनुरूप नै प्राधिकरणले पूर्वतयारी थालेको जनाएको छ।

सरकारी तयारी

नेपाल सरकारअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम पूर्वानुमान विभागले संयुक्त रूपमा बाढी तथा पहिरोसम्बन्धी चेतावनी प्रणाली सञ्चालन गर्दै आएका छन्। तर अझै कार्यान्वयन पक्ष कमजोर रहेको विज्ञहरूको बुझाइ छ।

कतिपय स्थानमा बाढी पूर्वानुमान प्रणालीको पहुँच नभएको, पूर्वसूचना दिइए पनि प्रभावकारी रूपमा समुदायमा पुग्न नसकेको गुनासो आइरहेका छन्। सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्त्वपूर्ण भूमिका हुने भएकाले देशभरि करिब १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ।

समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रूपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको हो। सशस्त्रका सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडामा २५ जनाका दरले विपद् सूचक समूह निर्माण गर्ने भएका छन्।

देशभरिका ६ हजार ७ सय ४५ वडामा २५ जनाका दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ। यसबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार सुरक्षाकर्मी परिचालन र उद्धारमा सहजता हुने विश्वास गरिएको छ।

त्यस्तै सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्धारक पनि तयार गर्दै छ। यही जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित गोताखोर तालिम समापनका अवसरमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले यसै वर्ष सातवटै प्रदेशमा करिब एक हजार समुदाय विपद् उद्धारक तयार गर्ने योजना सार्वजनिक गरेका थिए।

मुख्यालयले यसको तयारीस्वरूप मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम सुरुवात गरेको छ। समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिन तालिम सञ्चालन गरिनेछ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन्।

पूर्वतयारीमा प्राधिकरण

प्राधिकरणले यस वर्षको मनसुनमा ठुलो संख्यामा मानिस प्रभावित अनुमान गरेसँगै क्षति कम गर्न हिमाल, पहाड र तराईमा पूर्वतयारी गरेको छ। उसले विपद्मा खटिने स्वयंसेवक तयार पारेको छ। उनीहरूलाई उद्धार र राहतका विषयमा तालिम तथा प्रशिक्षण दिइएको प्राधिकरणले जनाएको छ।

उद्धार तथा राहतका बेला चाहिने उपकरण, सुरक्षाकर्मी र जनशक्तिलाई पनि तयारी अवस्थामा राखेको उसले जनाएको छ। निजी क्षेत्रले पनि आफ्नो तयारी गरिसकेको छ। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) पनि तयारी अवस्थामा छ। प्रमुख नदीहरू कोसी, नारायणी, कर्णालीमा जलमापन केन्द्रहरू स्थापना गरिएका छन्। जसबाट बाढीका बेला उद्धारमा ठुलो सहयोग पुग्ने छ।

प्रदेश तथा पालिकाहरूले पनि विपद् व्यवस्थापन कोष स्थापना गरी राहत तथा उद्धार कार्यका लागि बजेट छुट्याएका छन्। सहरहरूमा ढल तथा पानी निकास सफा गर्ने कार्यक्रम सञ्चालन गरिएको प्राधिकरणमा प्रवक्ता केसीले बताए। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आफ्नो तयारी थालिसकेका छन्। उनीहरूका विपद्सम्बन्धी एकाइलाई सतर्क अवस्थामा राखिएको छ।

गत वर्षको मनसुनमा सरोकारवाला निकायहरू समन्वय र सहाकार्यमा चुक्दा धेरै जनधनको क्षति भएको स्वीकार्दै प्रवक्ता केसीले यस वर्ष ‘कमान्ड पोस्ट’ निर्माण गरी तयारी अवस्थामा राखिएको बताए।

गत वर्ष कमान्ड पोष्ट स्पष्ट नभएको बताउँदै उनले भने, ‘गत वर्ष कमान्ड पोष्टको काम के हो भन्ने स्पष्ट थिएन। अहिले हामीले काम पनि किटान गरेका छौं।’ कमान्ड पोस्ट केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह सबैतिर बनाइएको उनले बताए।

‘कमान्ड पोस्ट’ ले के गर्छ?

मनसुनी विपद् हुनेबित्तिक्कै यसले सहकार्य र समन्वय गरेर सक्रिय रूपमा काम गर्छ। विपद् प्रतिकार्यका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरोकारवाला निकायले पूर्वतयारी गरे कि गरेनन् भनेर यकिन र निगरानी पनि यसले गर्छ। कतै पूर्वतयारी नभएको भए गर्न निर्देशन दिन्छ। यसले सूचना तथा सञ्चारको काम पनि गर्छ। जस्तैः काम गर्दागर्दै हेलिकोप्टर उडाउने अवस्था आएको खण्डमा यसले निर्देशन दिन्छ। कमान्ड पोस्टमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरण तथा गृह मन्त्रालयका प्रतिनिधि रहन्छन्।

बाढीपहिरोमा फसेकालाई तत्काल उद्धार गर्न होस् या राहत बाँड्न, यसले निर्देशन गर्छ। कमान्ड पोस्टमा सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिन्छ। अहिले पाँचवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको प्राधिकरणका प्रवक्ता केसीले बताए। उनका अनुसार यी हेलिकोप्टरलाई कमान्ड पोस्टले परिचालन गर्छ। यसको काम कमान्ड र कन्ट्रोल दुवै गर्नु हो। समन्वयदेखि निर्देशन दिने र निर्देशनलाई अवज्ञा गर्ने (कार्यकारी समिति परिसदसम्म) लाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार यसलाई दिइएको छ। कमान्ड पोस्टले अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग माग गर्नेदेखि बस्ती स्थानान्तरणसम्मको काम गर्न सक्छ।

जोखिम क्षेत्र पहिचान

सम्भावित जोखिम क्षेत्र पहिचान गरी विभिन्न तहले प्राधिकरणमा पठाउँछन्। प्राधिकरणले ती क्षेत्रमा भूगर्भविद्सहितको टोली खटाएर अध्ययन गर्छ। जोखिम क्षेत्रमा विपद्सम्बन्धी कुनै घटना भए तत्काल राहत, उद्धार र बस्ती स्थानान्तरणको काम प्राधिकरणको निर्देशनमा हुने प्रवक्ता केसीले बताए।

उद्धार अभ्यास

गत वर्ष मनसुनबाट ठुलो धनजनको क्षति भएको काभ्रेपलाञ्चोक पनि हो। काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ गरिएको छ। नेपाली सेनाले मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरूप अभ्यास प्रदर्शन गरेको हो। अभ्यास प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, स्थानीय तहलगायतका प्रतिनिधि सहभागी भएका थिए।

विपद्जन्य घटनाको पहिलो सूचक घटनास्थल नजिकको समुदाय हुने भएकाले यसबारे समुदायलाई सुसूचित गर्न तालिमसमेत दिनुपर्ने प्रहरीको भनाइ छ। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्त रूपमा बर्सेनि मनसुनअघि इन्द्रावती र सुनकोसी नदीमा पूर्वउद्धार प्रदर्शन गर्दै आएको सेनाले जनाएको छ।

बाढी विभिन्न कारणबाट खोला, नदी वा खोल्सामा पानीको स्तर असामान्य रूपले बढेर हुने विपद्जन्य घटना हो। अत्यधिक वर्षाका कारण, बाँध फुटेर वा पानीको नियमित बहाव रोकिएका कारणले खोला, खोल्सा, नदी वा भेलले अचानक नियमित बहाव क्षेत्र नाघेर अनियन्त्रित भई ठुलो क्षेत्रको जनजीवन, बस्ती वा खेतबारीमा प्रतिकूल प्रभाव पार्छ।

नेपालीले हरेक वर्ष खासगरी वर्षायाममा भोग्दै आएको प्रमुख विपद्जन्य घटनाहरूमध्ये बाढी एक हो। नेपालका सबै भेग बाढीको दृष्टिकोणले जोखिममा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले जनाएको छ।

सर्वसाधारणले गर्नुपर्ने तयारी

मनसुनमा बाढीपहिरोबाट जोगिन व्यक्तिगत तथा सामुदायिक सतर्कता अत्यावश्यक हुन्छ। खोल्साको किनार, पहाडको खोंच र डाँडामा बसोबास गर्नेले स्थानीय तह वा रेडक्रससँग समन्वय गरी जोखिम मूल्यांन गर्नुपर्छ। प्राथमिक उपचार सामग्री, खाना, टर्चलाइट, रेडियो, आवश्यक कागजात झोलामा राख्नुपर्छ।

यस्तै रेडियो, टेलिभिजन, मोबाइल एप वा स्थानीय सञ्चार माध्यमबाट दिइने बाढीपहिरोसम्बन्धी चेतावनीबारे जानकार हुनुपर्छ। विपद् आएमा कहाँ जाने भन्ने कुरा परिवारका सबै सदस्यले एकआपसमा सल्लाह गर्नुपर्छ र सुरक्षित स्थल पहिल्यै पहिचान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केसी बताउँछन्।

विपत्का घटना र मृतक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० वैशाख १ देखि चैत ३० गतेसम्म पहिरो, चट्याङ, बाढी, भारी वर्षाका एक हजार ७७ वटा घटना भएका थिए। यी घटनामा ११४ जनाको मृत्यु, ३०९ जना घाइते, ३० जना बेपत्ता र ६ हजार ४३७ घरपरिवार प्रभावित भएको तथ्यांक छ। त्यस वर्ष प्राकृति विपत्का घटनाबाट ३४ करोड ७० लाख ७९ हजार रूपैयाँबराबरको भौतिक सम्पत्ति क्षति भएको छ।

यसैगरी २०८१ वैशाख १ देखि २०८१ चैत ३१ गतेसम्म पहिरो, बाढी, चट्याङ र भारी वर्षाका २ हजार ४३६ वटा घटना भएका थिए। ती घटनामा परी ५३५ जनाले ज्यान गुमाएको, ६६ जना बेपत्ता भएको, ६९४ जना घाइते भएको तथ्यांक छ। त्ययस्तै ७४ करोड ४५ लाख ९२ हजार रूपैयाँबराबरको भौतिक सम्पत्ति क्षति भएको थियो।

 त्यस्तै यस वर्षको वैशाख १ देखि जेठ १२ गतेसम्म चट्याङ, भारी वर्षा, पहिरो, बाढीका १७७ वटा घटना भएका छन्। यी घटनामा १४ जनाको ज्यान गयो भने ७४ जना घाइते भए। यी घटनाबाट ५२ लाख ३० हजार रूपैयाँबराबरको भौतिक सम्पत्ति क्षति भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

विपद् बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा विपद्पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न उक्त रकम विनियोजन गरिएको बताएका थिए। विपद् पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने, विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइने बजेट वक्तव्यमा उल्लेख छ।

सरदरभन्दा बढी वर्षा र तामक्रम

जल तथा मौसम विज्ञान विभागले यही जेठ १८ देखि असोज १४ गतेसम्म देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण गरिएको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्। उनका अनुसार यस अवधिमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोसी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। मधेसको पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।

नेपालमा विपद् पूर्वतयारी गरिए पनि परेका बेला कार्यान्वयनमा आउन नसकेको बाढीका विषयमा विद्यावारिधि गरिरहेका इन्जिनियर सुनिल दुवाल बताउँछन्। ‘विकास निर्माणका काम गर्नुपर्छ तर सही र व्यवस्थित ढंगले गर्नुपर्छ,’ उनले भने, ‘अहिले सडक बाटो बनाउँदा पहिरोको जोखिमलाई ध्यान नदिएको जस्तो देखिन्छ।’

बाढीपहिरोको जोखिममा रहेका नागरिकलाई त्यसबारे सचेत गराउनु विपद्को पहिलो तयारी भएको उनी बताउँछन्। ‘जतिसक्दो चाँडो र धेरैमाझ जनचेतना फैलाउनुपर्छ। गत वर्ष बाढीपहिरोबाट रोसी गाउँपालिकामा ठुलो जनधनको क्षति भयो, यस वर्ष पनि त्यस्तै हुन्छ। अलि बढी अध्ययन गर्नुपर्छ। अहिलेसम्म भएका अध्ययनहरूलाई प्रकाशमा ल्याउनुपर्छ,’ दुवालले भने। उनले विद्यालय स्तरबाट शिक्षा दिँदै जान सके विपद्बाट नागरिकलाई बचाउन र क्षति रोक्न सकिने दुवाल बताउँछन्।

प्रकाशित: १७ जेष्ठ २०८२ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App