१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

राजावादी र एमाले प्रदर्शनको चेपुवामा पर्‍यो महानगरको सीप मेला

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको दोस्रो संस्करणको सीप मेला आज एक दिनका लागि रोकिएको छ। आज राजावादी र नेकपा एमालेले गरेको प्रदर्शनको असर मेलामा देखिएको हो। 

सीप मेला कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले भने, ‘आज गणतन्त्र दिवसका कार्यक्रमले सवारी आवागमनमा समस्या हुने देखियो। प्रशिक्षक र प्रशिक्षार्थीलाई कक्षामा आउन-जान कठिन हुने भएकाले कक्षा बन्द गरिएको हो।’ 

झाका अनुसार भोलिदेखि कक्षाहरू नियमित सञ्चालन हुनेछन्। महानगरपालिकाले गत वर्षको अनुभव र रोजगार क्षेत्रको सुझावका आधारमा यस वर्ष २,०८१ जनालाई तालिम दिने लक्ष्यसहित जेठ ७ देखि मेला सुरु गरेको हो। १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भइरहेका छन्।

आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी, ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, कृत्रिम बुद्धिमत्ता (एआई) र यसको प्रयोग समेटिएका १२ पेसा छन्। सौन्दर्य क्षेत्रमा कृत्रिम कपाल बनाउने, सौन्दर्यकर्मी, मेकअप र हेयर, नेल टेक्निसियन, कपाल काट्ने पेसा छन्।

विशेष क्षमता सहयोगी तालिम यस वर्ष थपिएको छ। यसमा हाउस किपिङ र केयर सर्भिसका दुई पेसा छन्। हाउस किपिङ बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकाका सहजकर्ताका लागि हो। इलेक्ट्रिक्समा ल्यापटप मर्मत, एसी र रेफ्रिजेरेटर, सिसिटिभी मर्मत, मोबाइल मर्मतका चार पेसा छन्।

गार्मेन्टमा फेब्रिकेटर र आधारभूत फेसन डिजाइनिङका दुई पेसा छन्। निर्माण क्षेत्रमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्रीका पाँच पेसा छन्। आतिथ्यमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरीका चार पेसा छन्। 

अटोमोबाइलमा इलेक्ट्रिक सवारी मर्मत, हलुका सवारी उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मतका तीन पेसा छन्। यही क्षेत्रमा ज्योतिष र पुरोहित तालिम पनि सञ्चालन हुनेछ। कृषिमा फूल सजावट र स्टक मार्केटसम्बन्धी तालिम सञ्चालन हुनेछ। रासस

प्रकाशित: १५ जेष्ठ २०८२ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App