माध्यमिक शिक्षा परीक्षा (एसइइ) पछि फुर्सदिला भएका विद्यार्थीले के गर्दैछन्? कतिपय थप अध्ययनका लागि विभिन्न विषयको तयारी कक्षामा जुटेका छन्। परीक्षा सकेर फुर्सदिला भएपछि केही घुमफिरमा व्यस्त छन भने कतिपय फुर्सदिलो अवस्थामा घरमै बसेका छन्।
कतिपय अभिभावक भर्खरैमात्र परीक्षाको चटारो सकेका छोराछोरीलाई आराम र घुमघाममा स्वतन्त्र पनि छाडेका छन्। परीक्षाको रिजल्टको पर्खाइमा रहेका विद्यार्थीबारे कतिपय विद्यालय समेत बेखवर छन। तर, पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले भने एसइइ दिएर फुर्सदिला भएका विद्यार्थीलाई फरक फरक सीपमुलक काममा व्यस्त बनाएको छ।
विद्यालयले विद्यार्थीका लागि इलेक्ट्रोनिक, प्लम्बिङ, वेभ डिजाइनिङ, वारिष्टा, कुकिङ–बेकिङ, सिलाईकटाई र सौन्दर्य कला सम्बन्धि सीप सिकाएर विद्यार्थीलाई व्यस्त बनाएको छ। विभिन्न समूह बनाएर विद्यार्थीलाई सीपमुलक काममा प्रशिक्षण दिएको संयोजक अनुप आचार्यले बताए। विद्यालयका १ सय ६६ जना विद्यार्थीलाई अहिले विभिन्न समूह बनाएर प्रशिक्षण दिएको आचार्यले बताए। विद्यालयले योपटक समेत गरेर लगातार तेश्रोपटक यस्तै प्रशिक्षण दिएको छ।
‘विद्यार्थीलाई फुर्सदको समयमा कतै न कतै व्यस्त बनाउन सक्ने हो भने उनीहरुले फरक फरक सीप पनि सिक्छन। फुर्सदको समयलाई उपयोग गर्दा उनीहरुमा जिम्मेवार बोध हुन्छ,’ आचार्यले भने, ‘पढाई छैन भनेर घरमा बस्दा उनीहरु मानसिक र शारिरिक समस्यामा थपिन सक्छ। डिजिटल डिभाइसको भरमा मात्र उनीहरुलाई राख्नुहुँदैन। फुर्सदको यो समयमा उनीहरुले भविश्य खोजिरहेका छन।’
कतिपय विद्यार्थी ब्रिजकोर्षको नाममा विभिन्न कक्षामा सहभागि भइरहँदा मदरल्याण्डले भने सीपमुलक कक्षा संचालन गरेर विद्यार्थीलाई नयाँ सीप सिकाएको छात्रा सिम्रन ढुंगानाले बताईन। ढुंगाना अहिले विद्यालयले संचालन गरेको सौन्दर्यकला सम्बन्धि प्रशिक्षणमा व्यस्त छिन्। ‘आफैले आफैलाई राम्रो बनाउन सकिन्न होला जस्तो लागेको थियो, तर अब त आफैले आफैलाई सिंगार्न सक्ने भए,’ उनले भनिन, ‘म मा आत्मबल पनि बढेको छ। घरबाहिर निस्कन हच्कने हामीलाई यो सिकाईले क्षमता बढाएको छ।’
पछिल्लो पुस्तामा सामान्य खालको सीप पनि नभएको अवस्थामा यो सिकाईले नयाँ अनुभव दिलाएको उनले बताईन। ‘हामी अघिल्लो महिनासम्म पढाईमा मात्र व्यस्त थियौ। बाहिरी अवस्था बुझ्न सकेका थिएनौ, सीपको महत्व त थाहै थिएन। तर, यो सिकाईले हामीलाई आत्मबल पनि दियो, केही सीप पनि सिकायो,’ उनले भनिन, ‘भविश्यमा यो क्षेत्रमा पनि अवसर छ भन्ने देखाएको छ। फरक फरक पेसा र सीपको महत्व बुझ्ने अवसर पाएका छौ।’
अर्की छात्रा सुप्रिया काफ्ले पनि सौन्दर्यकला सम्बन्धि तालिममै व्यस्त छिन्। ‘दिनभर घरमा बसिरहन भन्दा केही सीप सिक्न पाएका छौ। यसले हामीलाई व्यस्त पनि बनाएको छ। सीप सिक्न पनि पाएका छौं,’ काफ्लेले भनिन, ‘ब्रिजकोर्ष मात्र होइन, यस्ता सीपमुलक काममा पनि व्यस्त हुनुपर्छ।’ अहिले सिकेको सौन्दयर्कला सम्बन्धि सीप सबैका लागि जरुरी रहेको उनले बताईन।
‘सौन्दर्यकला नराम्रोलाई राम्रो मात्र बनाउने नभई राम्रोलाई झनै राम्रो पनि बनाउने सीप रहेछ, यो बल्ल बुझन पाए,’ काफ्लेले भनिन, ‘सौन्दर्यकलाको सीप जो कोहीलाई कुनैपनि बेला चाहिने भएकोले पनि यसको महत्व छ।’ फुर्सदिला छोराछोरीलाई उनीहरुको रुची अनुसारको सीप बुझाउने उपयुक्त समय भएको पनि उनले बताईन। ‘ब्रिजकोर्ष भनेर पढाईका पछाडि मात्र दौड्ने धेरै छन। तर, सीप र भविश्यको सम्भावना पहिचानमा धेरैको चाँसो छैन,’ उनले भनिन।
पछिल्लो समय स्वदेश मात्र नभई विदेशमा पनि सौन्दर्यकला सम्बन्धि सीपले बढी महत्व पाउन थालेको उनले बताईन। ‘विदेश गएका धेरै महिलाले सौन्दर्यकलाको सीप सिकेर गएका छन। त्यसले उनीहरुलाई काम र दाम दिएको छ,’ उनले भनिन, ‘स्वदेशमै उद्यमशिल बन्नका लागि यस्ता सीप जरुरी छ।’ आफुलाई रुची रहेको कुनैपनि क्षेत्रमा सीप सिकेर बस्दा फाइदा हुने उनले सुनाईन।
‘सौन्दर्यकलाको सामान्य काम गर्न पनि महंगो शुल्क तिरेर बाहिर जानुपर्ने अवस्था अब रहन्न, यो पनि फाइदाकै पक्ष हो,’ उनले भनिन, ‘सीप सिकेर कसैलाई नोक्सान गर्दैन, बरु फाइदा नै हुन्छ। अहिले सिकेको सीपले भविश्यमा विदेश नै जानुपरेमा पनी अतिरिक्त काममा केही न केही सहयोग पुग्नेछ।’
विद्यालयका प्राचार्य डा. नारायण बराल अहिले विद्यार्थीले सिकेको सीपलाई अन्यत्र कतै नभए आफैमा प्रयोग गर्न सक्ने बताउँछन। ‘व्यक्तिगत क्षमता बढाउने यस्ता सीप सिकेर तत्कालका लागि अन्यत्र प्रयोग नआउँला, तर, विद्यार्थी आफैले आफ्ना लागि त यो सीप प्रयोग गर्न सक्छन,’ बराल भन्छन, ‘विद्यार्थीलाई आफैमा निर्भर बनाउनका लागि विद्यालयले यो अभ्यास थालेको हो।’ एसइइ दिएका विद्यार्थीका लागि अहिले नै ब्रिजकोर्षको साटो यस्ता सीपमुलक सिकाईको आवश्यकता रहेको उनले बताए।
‘यस्ता सीपले विद्यार्थीले रुची बुझ्न पाउँछन। विद्यार्थीले आफ्नो रुचीको विषय पहिचान गर्न सक्नु पनि महत्वपूर्ण मानिन्छ। छोराछोरीको चाहना र अभिभावकको बुझाई फरक पर्न गयो भने त्यहाँ समस्या निम्तिन्छ। अहिले हामीले विद्यार्थीकै चाहना अनुसार सिकाईमा जोडेका हौ,’ बरालले भने।
बरालका अनुसार विद्यालयले कक्षा ४ भन्दा माथिका विद्यार्थीलाई कुनै न कुनै तरिकाले सीपमुलक अभ्यासमा जोड्ने अभ्यास गरिरहेको छ। साताको एकदिन ‘बुक फ्री डे’ बनाएर त्यो दिन विद्यार्थीलाई यस्तै सीपमुलक सिकाईको अभ्यास गराइएको उनले बताए।
‘एसइइ दिएका विद्यार्थीलाई फुर्सदको समयलाई सदुपयोग गराउन पनि यस्ता अभ्यास जरुरी छ। हामीले अभिभावकलाई आर्थिक भार नपर्नेगरि विद्यार्थीलाई निशुल्क सीप सिकाएका छौ। एकैजना विद्यार्थीले दुइ वा बढी सीप पनि सिक्न पाएका छन,’ उनले भने, ‘यो सीपले आफ्नो क्षमताले भ्याएसम्मका काम गर्न उनीहरु सक्षम हुनेछन।’ विद्यार्थीले आफ्नो रुची पहिचान गर्न नसक्दा कहिलेकाँही समस्या पर्ने गरेको प्राचार्य बरालले बताए। ‘हामीले विद्यार्थीको भोक जगाइदिने हो, खाने त उनीहरुले नै हो,’ उनले भने।
प्रकाशित: १३ जेष्ठ २०८२ १५:०७ मंगलबार

