श्रीमतीको हत्या गरी घरमै शव गाडेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनीयाँस्थित आफ्नै घरमा चैत १७ गते २५ वर्षीय श्रीमती अंजली यादवलाई हत्या गरेको आरोपमा प्रहरीले उनको ४० वर्षीय श्रीमान् हरिराम यादवलाई पक्राउ गरेको हो ।
श्रीमतीलाई हत्या गरी कूल देवता भएको घरमा खाल्डो खन्नी शव लुकाई १० महिने छोरीलाई लिएर तत्काल फरार भएका हरिरामलाई आज धनुषाकै खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको धनुषा प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
उनका अनुसार हरिरामले श्रीमतीको शव घरमै गाडी बाहिरबाट घरमा तल्चा लगाई छोरीलाई लिएर फरार भएका थिए। तीन चार दिनदेखि घरमा कोही नरहेको र बाहिरबाट घरमा तल्चा लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हरिराम पक्राउ परे पनि उनी आफूसँगै लिएर गएको १० महिने छोरी फेला नपरेको प्रहरी उपरीक्षक रेग्मी बताए । छोरीको बारेमा खोजी कार्य भइरहेको उनले बताए ।
प्रहरीलाई घटना बारेमा जानकारी भएपछि हरिरामको घरमा पुगी प्रहरीले तल्चा फुटाई भुँइ तल्लामा रहेको कूलदेवताको पूजाको कोठामा नयाँ ढलान देखेपछि उत्खनन गर्दा दुई फिट जमिनमुनि गाडिएको अवस्थामा अंजलीको शव फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
मृतक अंजलीकी बुबा शिवधारी यादवले ज्वाइँ हरिरामले छोरीलाई हत्या गरेको किटानी जाहेरी दिएका छन् ।
प्रकाशित: ८ जेष्ठ २०८२ १७:२६ बिहीबार





