१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मार्सी धानमा ‘ब्युटाक्लोर’ हाले गाउँपालिकाले सेवा रोक्ने

फाइल तस्बिर

जुम्ली मार्सी धानमा झारनाशक विषादी ‘ब्युटाक्लोर’नहाल्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि विज्ञहरूले उक्त विषादी नहाली प्राङ्गारिक जिल्लाको पहिचान कायम गर्ने कार्यमा सघाउन आग्रह गरेका हुन्।

अझैसम्म लुकीछिपी धान बालीमा झारनाशक विषादी ब्युटाक्लोर हाल्ने गरेको जनगुनासो सुनिएको छ। ब्युटाक्लोर प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपक्षी, माटो, जल तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । विषादी नहालेर गोड्न ध्यान दिनुपर्ने उनले बताए।

जुम्लाका अन्य गाउँपालिका अन्तर्गतका कृषि शाखाहरूले धान बालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग  नगर्न भन्दै सूचना जारी गरिरहेका छन्। यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले रासायनिक विषादी प्रयोग गरेको प्रमाणित भए किसानलाई उपलब्ध गराइने सेवा सुविधा रोक लगाउने निर्णय गरेको छ ।

विषादी प्रयोग गर्ने किसानको जानकारी गोप्य रुपमा दिने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था समेत गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने, ‘विषादी मिसिएको खानपिनले दिनप्रतिदिन मानव स्वास्थ्यमा असर पारिरहेको छ । विषादी प्रयोगले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुन्छ। विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिन्छ । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्त मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गर्दछ।‘

विसं २०६४ वैशाखमा भएको १४ औँ जिल्ला परिषद्ले जुम्ला जिल्लालाई अर्ग्यानिक जिल्ला घोषणा गरेको थियो ।मार्सी धानसहित अर्ग्यानिक बालीको रासायनिक विषादीको विकल्प अर्ग्यानिक जीवजन्तु तथा जैविक मल कारखानाको स्थापना गर्न लामो समयदेखि जुम्लाका किसानले माग गर्दै आएका छन् ।

प्रकाशित: ७ जेष्ठ २०८२ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App