सर्लाहीको लालबन्दीमा यात्रुबाहक बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
सोमबार दिउँसो लालबन्दी नगरपालिका-१७, रानिगंजस्थित पूर्व-पश्चिम राजमार्गमा रानिगंजबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना १ ज २६४५ नम्बरको म्याजिक भ्यान ठोक्किएका थिए।
ठक्करबाट म्याजिक भ्यानमा सवार नौ जना घाइते भए। घाइतेलाई लालबन्दीको मोडेल अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये २२ वर्षीया सोना पन्तको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। मृतक सोना लालबन्दी-१७, रानिगंजका वीरसिंह पन्तकी छोरी हुन्।
अन्य घाइतेको उपचार भइरहेको प्रहरीले बताएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रकाशित: ६ जेष्ठ २०८२ ०६:१२ मंगलबार





