८ असार २०८२ आइतबार
image/svg+xml
समाज

अँधेरीमा अर्को दुर्घटना, चारको अवस्था गम्भीर

दुर्घटनामा परेको विद्युतीय गाडी । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

दिनहुँजसो सवारी दुर्घटना हुँदै आएको मदन भण्डारी लोकमार्गको अँधेरीमा आइतबार पनि दुर्घटना हुँदा ११ यात्रु घाईते भएका छन् । लोकमार्ग अन्तर्गत गाईघाट–कटारी खण्डको उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा दुर्घटनामा परी चालकसहित ११ जना घाईते भएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ज् ००५८ नं को विद्युतीय गाडी (इभी) अँधेरीस्थित ओरालो घुम्ती सडकमा ब्रेक फेल भएर अपराह्न दुर्घटनामा परेको हो ।  

घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईतेहरु उदयपुरको रौतामाई गाउँपालिका ७ का ४५ वर्षीया पुष्पा खड्का, त्रियुगा नगरपालिका ९ राजावासका २६ वर्षीय गोपी दनुवार, त्रियुगा ८ शाहीखोलाका २० वर्षीय निशन खड्का र भक्तपुर सूर्यविनायक नगरपालिका ४ की ६० वर्षीया सानुमाया श्रेष्ठलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित टिचिङ हस्पीटल रिफर गरिएको छ ।  

सामान्य घाईतेहरु चालक त्रियुगा नगरपालिका ६ का २० वर्षीय हिमाल बस्नेत, सोही ठाउँकी २४ वर्षीया सङगिता खत्री, उदयपुरकै चौदण्डीगढी नगरपालिका १० की १८ वर्षीया मिजा सेवाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी भक्तपुर सूर्यविनायक ४ का ६६ वर्षीय श्यामकाजी श्रेष्ठ, सोही ठाउँकी ३३ वर्षीया प्रतिक्षा बजिमय, सिन्धुलीको कमलामाई नगरपालिका १० का ४३ वर्षीय ओमबहादुर भुजेल, खोटाङको बराहापोखरी गाँउपालिका ४ का १९ वर्षीय अनिश राईको पनि उदयपुर जिल्ला अस्पतालमै उपचार भईरहेको छ ।  

उनीहरुको अवस्था सामान्य रहेको अस्पताल बिटका प्रहरी जवान मणिराज राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् । 

प्रकाशित: ४ जेष्ठ २०८२ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App