१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गाईघाट-दिक्तेल सडक योजना आफ्नै भवनमा

गाईघाट दिक्तेल सडक योजना कार्यालयले आफ्नै कार्यायल भवन पाएको छ । नयाँ भवन पाएसँगै लोकमार्ग निर्माणार्थ गाईघाटमा स्थापित योजना कार्यालयको कामकाज आइतबारदेखि सञ्चालनमा आएको छ ।

त्रियुगा नगरपालिका १० बोक्सेस्थित नवनिर्मित भवनको सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एक कार्यक्रमका बीच उद्घाटन गरे । औपचारिक उद्घाटन भएसँगै नयाँ भवनबाट सम्पूर्ण कामकाज सुरु भएको छ । दुई दशक बढी समयदेखि भाडामा चल्दै आएको कार्यालयको कामकाज आफ्नै भवनबाट सञ्चालन गर्न थालिएको योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए ।  

ज्ञवालीका अनुसार अढाईतले भवन निर्माण कार्य डेढ वर्षअघि थालिएको थियो । सतासी निर्माण सेवा प्रा.लि. झापाले भवनसहित ४ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी ०८१ मङ्सिर २८ गते सम्झौता गरेको थियो ।  

लोकमार्गको गाईघाट–दिक्तेल सडक जिरोमाईल त्रियुगा बसपार्कदेखि गाईघाट मुख्यचोकसम्मको ९ सय ४४ मिटर तथा बरुवा पुल–साउने खण्डसमेत गरी ४ किलोमिटर स्तरोन्नति कालोपत्रे गर्ने योजनाभित्रै नयाँ भवन पनि निर्माण गर्ने ठेक्का लिएको डिई ज्ञवालीले बताएका छन् ।  

सडक कालोपत्रे र भवन निर्माणसमेत गरी सतासीले निर्माण सेवाले मूल्य अभिबृद्धि कर (भ्याट) सहित ८ करोड २३ लाख ३३ हजार १ सय ११ रुपैँयामा ठेक्का लिएको छ । जसमध्ये भवन निर्माण सम्पन्न भएर उद्घाटन भएको तथा बरुवा पुलदेखि साउने खण्डको कालोपत्रे गर्ने काम भने भईरहेको छ ।  

जिरो माईलदेखि गोलचोकसम्मको सडक भने ३ वर्षअघि मात्र कालोपत्रे गरिएको र स्तरोन्नति गर्न भत्काउने या नभत्काउने भन्ने यकिन भईसकेको छैन । सर्फेस ड्रेसिङ प्रविधिमा निर्मित बसपार्क–मुख्य चोक खण्ड निर्माण गरेको ३ वर्ष पनि नबिन्दै अस्फाल्ट प्रविधिमा स्तरोन्नति गर्ने ठेक्का लगाउँदा अनाहकमा बजेट खर्च हुने स्थानीय बताउँछन् ।  

‘यो सडक बनेको ३ वर्ष भएको छैन, फेरि भत्काएर बनाईहाल्न के जरुरी’ स्थानीय श्यामकुमार चौधरीले प्रश्न गरे ‘यहाँ लगाउने बजेट अर्को कुनै ठाउँको सडक बनाउनु नि । राज्यको यस्तो अनावश्यक खर्च गर्ने परिपाटीले के फाईदा ?’

भवन उद्घाटनपछि मन्त्री दाहालसहितको टोली लोकमार्गको खोटाङतर्फको फोक्सिन्टार–महुरे खण्ड निर्माणको सिल्यान्यास गर्न फोक्सिन्टारतर्फ गएको छ । योजना कार्यालयले यसअघि लगाइएको ठेक्का समयमा काम नभएपछि सम्झौता तोडेर नयाँ ठेक्का लगाएको छ । कार्यालयले फोक्सिन्टार–राजापानी र राजापानी–महुरे खण्ड गरी अलग अलग लगाएको २ ठेक्काको काम सुरु हुने जनाएको छ । 

प्रकाशित: ४ जेष्ठ २०८२ १६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App