बैतडीमा एक स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट दुई जना महिला घाइते भएका छन्।
पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बायाँ कानमा चोट लागेको छ।
घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता बडूले जानकारी दिए।
खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको जनाउँदै उनले भने ‘दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: ३ जेष्ठ २०८२ १८:०४ शनिबार