मकवानपुरबाट केही दिनअघि चोरी भएका दुईवटा मालवाहक ट्रक चितवनमा फेला परेका छन्। प्रहरीले शनिबार ती ट्रकहरू सम्बन्धित धनीलाई सनाखत गराई हस्तान्तरण गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा उपमहानगरपालिका–१२ निवासी ४१ वर्षीय ईश्वर बलामीले संचालन गर्दै आएको ना ३ ख ७३२० नम्बरको ट्रक गत वैशाख ३० गते सोही उपमहानगरपालिकाको वडा नं. ११ नवलपुरस्थित एक ग्यारेजबाट चोरी भएको थियो।
त्यसैगरी, हेटौँडा–३ निवासी ४६ वर्षीय हरिबहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक जेठ १ गते आफ्नै घर अगाडिबाट चोरी भएको भनी प्रहरीमा उजुरी परेको थियो।
प्रहरीले प्राप्त उजुरीका आधारमा खोजतलास गर्ने क्रममा दुवै ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडकखण्ड किनारमा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका ट्रकहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आज सम्बन्धित धनीहरूलाई बुझाइएको छ।
उक्त चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न टोली परिचालन गरी खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रकाशित: ३ जेष्ठ २०८२ १४:२७ शनिबार