२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

सगरमाथा संवाद: जलवायु संकट सम्बोधनमा अग्रसरता

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बहुपक्षीयता कमजोर र अन्तर्राष्ट्रिय संस्थाप्रति अविश्वास बढेका बेला नेपालले ‘सगरमाथा संवाद’ आयोजना गरेको बताएका छन्।

विभिन्न १३ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित एक सय ७५ विदेशी पाहुना सहभागी सगरमाथा संवादको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वैश्विक शासनप्रणालीप्रति विश्वास घट्दो रहेको, असमानता गहिरिँदै गएको र बहुपक्षीयता डरलाग्दो अन्योलको आँधीमा रुमलिएका’ बेला नेपालले यस्तो संवाद आयोजना गरेको बताएका हुन्।

बुद्धको देश नेपाल ज्ञान र शान्तिको प्रतीक रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संवादको अवधारणा त्यहींबाट सुरु भएको बताए। उनले विश्वमा जलवायु सन्तुलन कायम राख्न र करोडौं मानिसलाई खानेपानी उपलब्ध गराउन हिमालय क्षेत्रको योगदान रहेको तर ‘विश्वका जलवायु वार्तामा हिमालहरू प्रायःजसो उपेक्षित’ भएको बताए। ‘हामीलाई हिमाल जोगाउन साहसी र एकीकृत दृष्टिकोण चाहिएको छ। हिमालदेखि महासागरसम्म जोडने सोच चाहिएको छ, जीवनको रक्षा गर्ने हिमाललाई नबिर्सौं,’ उनले भने।

जलवायु परिवर्तनको असर पर्वतीय क्षेत्र र मानवतामा प्रत्यक्ष हिसाबले परेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘के मानवता हाम्रा हिमालबिना जोगिन सक्छ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन संरक्षकहरूको संरक्षणबिना सम्भव छ?’

जलवायु परिवर्तन एक वैश्विक समस्या रहेकाले यसको समाधान पनि वैश्विक तरिकाले हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। ‘समस्याको समाधान न्यायमा आधारित, उत्तरदायित्वमा आधारित र ऐक्यबद्धताबाट उत्प्रेरित हुनुपर्छ। जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ,’ उनले भने।

विश्वका धनी र विकासोन्मुख राष्ट्रको समूह जी–२० ले मात्र विश्वमा हुने कुल उत्सर्र्जनको ८० प्रतिशत हिस्सा ओगट्छ। त्यही तथ्यलाई इंगित गर्दै उनले भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन्, तिनीहरूले नै समाधानमा सबैभन्दा बढी योगदान दिनुपर्छ। वित्तीय सहयोग, प्रविधि र क्षमता अभिवृद्धिमार्फत संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ।’

प्रविधिको विकासले विश्वको कुनै पनि कुनामा भएका घटना तत्काल सबैतिर पुग्ने गरेको प्रसंग उठाउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा भूभागमा सल्किएको डढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ। टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र बिथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, फाँटहरू सुक्खा र बाँझो बन्न पुग्छन्, जीवन विखण्डित हुन्छ।’

उनले थपे, ‘वर्षा अनिश्चित बन्दै गएको छ, पहिरोले घरबास बगाइरहेको छ, अकस्मात् बाढी आएको छ र खडेरी परेको छ। यति हुँदाहँुदै पनि हामी डटिरहेका छौं।’

ओलीले ‘वादे–वादे जायते तत्व बोध’ भन्ने भनाइका आधारमा नेपालले जलवायु परिवर्तनका विषयमा कुरा गर्न, सुन्न र आगामी दिनमा सही कार्य गर्ने दिशामा योगदान गर्न सगरमाथा संवाद आयोजना गरेको प्रष्ट पारे।

नेपालसहित विश्वका हिमाल अहिले भयंकर संकटमा रहेको र विश्वका लागि यो साझा असुरक्षाको विषय भएको चर्चा गर्दै ओलीले भने, ‘संसारकै सर्वोच्च शिखर सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ सन्देश दिन्छौं– हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो।’

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै परराष्ट्रमन्त्री आरजु देउवा राणाले जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न नेपाल बाध्य भएको बताइन्। ‘हाम्रा नदी, वन र पहाडहरूको संरक्षकको रूपमा हामी कार्यरत छौं तर अरूका कारण उत्पन्न जलवायु परिवर्तनको बोझ खेप्न हामी बाध्य छौं। यो गम्भीर अन्याय हो र यसलाई तुरुन्तै सम्बोधन गरिनुपर्छ,’ उनले भनिन्।

हिमालयले प्राकृतिक रूपमा चिस्यानको काम गरेको र हिमालमा हुने गडबडीले समुद्रसम्म असर पर्ने बताउँदै उनले जलवायु परिवर्तनको असरका कारण खतरामा परेको मानव अस्तित्व रक्षाका लागि सहकार्य हुनुपर्ने र आगामी पिँढीलाई सुरक्षित भविष्य हस्तान्तरण गर्नु हामी सबैको जिम्मेवारी रहेको बताइन्। ‘पर्वतीय समुदायको जीवनयापन समस्यामा छ। स्थानीय महिला, विपन्न समुदायले आफ्नै हिसाबले यो चुनौतीसँग लडेका छन्। यो क्षेत्रले भोगेका समस्याको दिगो समाधानका लागि सरकार, कर्पाेरेसन र नागरिक समाजको विश्वव्यापी सहयोग आवश्यक छ,’ उनले भनिन्। 

उनले हालै स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानी कोषमा सहज पहुच आवश्यक रहेको, जलवायु परिवर्तनका कारण उत्पन्न असर न्यूनीकरण र अनुकूलनका लागि नेपालले गर्ने प्रयासका लागि विश्वव्यापी सहयोग आवश्यक रहेको बताइन्।  

उदघाटन सत्रमा कोप–२९ का अध्यक्ष तथा अजरवैजानका इकोलोजी तथा प्राकृतिक संशाधनमन्त्री मुख्तार अवायेवले नेपालले पर्वत संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र मानवताको संरक्षण विषयमा संवाद आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए।

उनले जलवायु परिवर्तनका कारण अजरवैजानमा विगत सात वर्षमा २० प्रतिशत हिमनदी घटेको र यसले कृषिमा असर परेको बताउँदै भने, ‘जलवायु परिवर्तनका विश्वव्यापी चुनौतीलाई विश्वव्यापी कार्य आवश्यक छ।’  

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अर्थात् कोप प्रक्रियामा पर्वतीय विषयले प्रवेश पाएको चर्चा गर्दै उनले विश्वका हिमनदीको संरक्षणका लागि विभिन्न दातृ निकायको सहयोगमा ३.५ अर्ब अमेरिकी डलरबराबरको सहयोग प्रक्रिया अघि बढेको बताए।  

त्यस्तै भारतका वातावरण, वन तथा जलवायुमन्त्री भूपेन्द्र यादवले विश्वव्यापी कार्बन उत्सर्जनमा दक्षिण एसिया क्षेत्रको अत्यन्त न्यून योगदान रहेको तर जलवायुजन्य विपत्ले सबैभन्दा बढी यही क्षेत्र प्रभावित भएको बताए। ‘हाम्रो भविष्य सामूहिक प्रयासमा आधारित हुनुपर्छ। जलवायु परिवर्तनका चुनौती सामान गर्न जलवायु वित्त, प्रविधिको हस्तान्तरणलाई सशक्त पार्न आवश्यक छ,’ उनले भने। जलवायु परिवर्तनका चुनौती सामान गर्न सबैको ज्ञान र सहकार्य आवश्यक रहेको औंल्याउँदै उनले भने, ‘यो विषयमा वैज्ञानिक सहकार्य, जलवायु उत्थानशिलता, पूर्वसूचना प्रणाली, पर्वतीय समुदायको सशक्तीकरण महत्त्वपूर्ण छ। वसुधैव कुटुम्बकमका आधारमा सहकार्य हुनपर्छ।’

उद्घाटन् सत्रमा चिनियाँ पिपुल्स कंग्रेस स्थायी कमिटीका उपाध्यक्ष सियाओ चीले दक्षिण दक्षिण (साउथ साउथ) सहयोगका लागि चीन प्रतिबद्ध रहेको बताए। उनले हिन्दकुश, काराकोरमलगायत विश्वका इकोलोजिकल क्षेत्रको संरक्षण आवश्यक रहेको बताए।  

चोमोलोङ्मा अर्थात् सगरमाथा संरक्षणमा चीनले प्रयास गरिरहेको बताए। जलवायु परिवर्तनका लागि जिम्मेवार रहेका विकसित देशले विकोसोन्मुख देशलाई सहयोग गर्नुपर्ने उनको धारणा थियो।

सम्मेलनका प्लेनरीमा विभिन्न देशका मन्त्री, प्रतिनिधिमण्डलका नेता र विज्ञले सगरमाथा संवाद जलवायु परिवर्तनका मुद्दामा मात्र नभई यो चुनौती समाधान गर्न आवश्यक पर्ने जलवायु कार्यका विषयमा पनि केन्द्रित हुनपर्ने बताएका छन्।

हिमाली क्षेत्रका ताल, हिमनदी र हिउँको अवस्थाबारे अत्यन्त थोरै अध्ययन भएको र भएका अध्ययन पनि एकीकृत रूपमा नभएको विज्ञहरूले बताएका छन्। भारत र चीनले गर्ने कार्बन उत्सर्जनले हिमालय क्षेत्रमा कालो (ब्ल्याक) कार्बन सञ्चित भएको र यसले हिमनदी पग्लने क्रमलाई तीव्रता दिएको उनीहरूको भनाइ थियो। यो समस्या समाधानका लागि राजनीतिक सुझबुझ, सहकार्य र जलवायु कूटनीति प्रयोग हुनुपर्नेमा उनीहरूले जोड दिए।

सम्मेलनमा १३ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित एक सय ७५ जनाकोे सहभागीता छ। त्यस्तै स्वदेशी संघसंस्थाका प्रतिनिधि र विज्ञको पनि संवादमा सहभागिता छ। संवादमा जलवायु परिवर्तन, पृथ्वीको तापमान वृद्धि, पर्वतीय अर्थतन्त्र, जलावायुजन्य हानि–नोक्सानी, हिमालदेखि समुद्रलाई जोडनेलगायतका विभिन्न १२ विषयमा प्रस्तुति र छलफल हुनेछ। संवाद आइतबारसम्म चल्नेछ।

प्रकाशित: ३ जेष्ठ २०८२ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App