नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मापदण्डमा परे पनि यसै सिजनमा आरोहण गर्ने पर्याप्त योग्यता र तयारी नपुगेको स्पष्ट पारेका छन्।
पर्यटन विभागबाट आरोहण अनुमति लिएको समाचार सार्वजनिक भएपछि शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो योजना र हालको अवस्थाबारे विस्तृत जानकारी गराएका हुन्।
शर्माले आफू यसपटक सगरमाथा आधार शिविर (बेसक्याम्प) सम्म पुग्ने ‘सेमिफाइनल’ लक्ष्य लिएर काठमाडौंबाट हिँडेको र सो लक्ष्य पूरा भइसकेको बताएका छन्।
हाल उनी आधार शिविरमा आरोहणका लागि प्रशिक्षण लिइरहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि मसँग छ। त्यसैले अहिल्यै/आजै चढ्न लागे कि भन्ने लागेर कसैले लेख्नु अन्यथा पनि होइन।’
यद्यपि, सगरमाथा आरोहणका लागि विशेष प्रशिक्षण र पर्याप्त समय आवश्यक पर्नेमा जोड दिँदै शर्माले सामान्यतया आरोहीका लागि ४२ दिनको प्याकेज हुने र मे २९ (जेठ १५/१६) तिर ‘सगरमाथा दिवस’ का दिन आरोहण प्रायः समापन हुने प्रचलन रहेको स्मरण गराएका छन्।
‘म भर्खर केही दिन यता मात्र बेसक्याम्प पुगेको हुँदा, न समय पर्याप्त पुगेको छ, न मसँग सगरमाथा आरोहणका लागि जरुरी प्रशिक्षण छ,’ उनले स्पष्ट पारेका छन्, ‘तर प्रशिक्षण लिँदै चाहिँ छु। आखिर यो प्रशिक्षण फाइनल भिड्नै परेका बेला त काम लाग्छ नै।’
आधार शिविर पुग्दैमा सगरमाथा पुग्न नसकिने र इच्छाएका कुरा हासिल गर्न सोही बमोजिमको योग्यता पनि चाहिने बताउँदै उनले हाल आफूसँग त्यसका लागि पर्याप्त योग्यता नरहेको स्वीकार गरेका छन्। ‘यतिबेला केवल तपाईंको शुभकामनाप्रति आभारी हुनेछु,’ उनले थपे।
यसअघि पर्यटन विभागले महामन्त्री शर्माले सगरमाथा आरोहणका लागि अनुमति लिएको पुष्टि गरेको थियो। विभागका निर्देशक हिमाल गौतमका अनुसार शर्माले वसन्त ऋतुको जारी आरोहणका लागि अनुमतिपत्र प्राप्त गरेका हुन्।
हालसम्म यस सिजनमा ५० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विभागको तथ्याङ्कअनुसार सगरमाथाका लागि ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन् भने २७ विभिन्न हिमालका लागि १२४ समूहका कुल एक हजार एक सय ४० जनाले आरोहण अनुमति पाएका छन्।
प्रकाशित: १ जेष्ठ २०८२ १९:०४ बिहीबार





