प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन्।
बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले विपद्को पूर्वतयारी गर्न माग गरिन्। अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।
नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले यही जेठ १५ गते महत्त्वपूर्ण दिन गणतन्त्र दिवस भएकाले सोही दिन बजेट ल्याउने संवैधानिक व्यवस्थालाई संशोधन गर्न आग्रह गरे। कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटको समय आएको भन्दै सिँचाइ र तटबन्धको क्षेत्रमा बजेट बढाउनुपर्ने माग गरे।
कांग्रेसकी सांसद शान्ति विकले धर्म निरपेक्ष देशमा धर्मको नाममा भेदभाव, हिंसा फैलन नदिन माग गरे। सबैको आस्थाप्रति समान व्यवहार गर्न उनले सरकार र सबै दलको ध्यानाकर्षण गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकार भए पनि त्यो पूरा हुन नसकेको बताए। उनले पोखरा महानगरपालिकाभित्र फोहर उठाउने गाडीले लाचुक क्षेत्रको फोहर नउठाएको, मर्दी खोलामा फोहर फालेको भन्ने विषयमा पोखरा महानगरपारिलका, नेपाल खानेपानी संस्थान पोखरा र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वल्र्ड एक्स्पो २०२५’ मा विश्वका एक सय ६० भन्दाबढी राष्ट्रले आ–आफनो पहिचान र सम्भावना प्रदर्शन गरिरहेका बताए।
उनले उक्त कार्यक्रम करिब दुई करोड ८० लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानी गर्ने सुनौलो अवसर हुँदा पनि त्यससम्बन्धी सामग्री पूरा नगरेको भन्दै यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अभिवृद्धिका लागि उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १ जेष्ठ २०८२ १४:१० बिहीबार

