अन्तर-संसदीय सहकार्य प्रवर्द्धन गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ मलेसियाको एक उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल हाल नेपालको औपचारिक भ्रमणमा रहेको छ। सिनेटर डा. मोहमद हट्टा बिन मोहमद रामलीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
उक्त प्रतिनिधिमण्डलमा मलेसियाली संसदका सदस्यहरु रोडजियाह बिन्ती इस्माईल र दातुक ल्यारी स्ङ वेइ शिएन पनि सहभागी छन्। संसदीय कूटनीतिमार्फत आपसी समझदारी एवं सहकार्यलाई अभिवृद्धि गर्ने दुवै राष्ट्रको साझा प्रतिबद्धतालाई यस भ्रमणले प्रतिबिम्बित गरेको बताइएको छ।
यसै क्रममा, भ्रमणमा रहेका प्रतिनिधिहरूको सम्मानस्वरुप अन्तर-संसदीय वक्ता सम्मेलनका महासचिव एकनाथ ढकालले बुधबार साँझ काठमाडौंस्थित द्वारिकाज होटलमा एक रात्रिभोजको आयोजना गरे।
उक्त अवसरले दुई देशबीच सद्भावना अभिवृद्धि गर्दै अनौपचारिक संवाद तथा सांस्कृतिक आदानप्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको थियो।
मलेसियाली संसदीय प्रतिनिधिमण्डलको यो भ्रमणले नेपाल र मलेसियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न तथा शासन, विकास र क्षेत्रीय सहयोगलगायत पारस्परिक हितका विविध क्षेत्रमा बृहत्तर सहकार्य प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ वैशाख २०८२ २१:३९ बुधबार