१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

‘गाईघाट कालोपत्रे’को नाला निर्माणमा लापरबाही भएको गुनासो

विश्व बैँकको ऋण सहयोगमा निर्माणाधीन सदरमुकाम गाईघाटका सडक स्तरोन्नतिसहित कालोपत्रेको नाला बनाउँदा लापरबाही भईरहेको बजारबासीको गुनासो छ । एकातिर काम धेरै सुस्त गतिमा भईरहेको तथा नाला बनाउँदा घुमाउरो, अग्लो होचो र मुल नालासँग जोड्ने ढलानमा लापरबाही हुन लागेको उनीहरुले बताए ।

बजारलाई चिरेर निर्मित पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गसँग जोडिएका शाखा सडकको नाला निर्माणमा चरम लापरबाही भईरहेको बजारबासीको दुखेसो छ । शाखा सडकका नालाहरु मुल नालामा जोड्ने ठाउँमा अत्यन्त लापरबाही भईरहेको भन्दै विद्युत लाईनका भरत कार्कीले तत्काल नगरपालिकाले यसमा ध्यान दिन सुझाए । मुल नालामा जोड्न तयार भईरहेको शाखा नालाहरु निर्माणमा गम्भीर गल्ती भएको भन्दै यसबारे कसैले वास्ता नगरेकोमा उनको गुनासो छ ।

विद्युत लाईनबाट बिपी चोकस्थित मुल नालामा जोडेने निकासमा फोहोर थुप्रिएको तथा पानी जमेको भए पनि त्यस्तै ठाउँमा सफा नगरी ढलानको तयारी भईरहेको कार्कीले बताए । दुई नाला जोड्ने ठाउँमा जमेको पानी र थुप्रिएको फोहोर नफाली ढलान गर्ने हो भने नाला बनाउनु र नबनाउनुको कुनै अन्तर नहुने उनले बताए । त्यसका लागि आफुहरुले ठेकेदार र नगर जनप्रतिनिधिलाई भन्दै आए पनि चासो नदिएको भन्दै बजारबासीलाई यस्तो असर गर्ने काम नगर्न सचेत गराए । 

बिपी चोक र गोलचोकस्थित ढलानको तयारी गरिएको नाला । तस्विरः महेश्वर चाम्लिङ राई/नागरिक

अर्का स्थानीय मदन पोखरेलले पनि नाला निर्माणमा चरम लापरबाही भईरहेको बताए । नगर जनप्रतिनिधि र ठेकेदारले स्थानीयको भविष्यप्रति चासो नराखी काम गर्दा भविष्यमा नाला जाम हुने तथा फुटेर बजार नै दुर्गन्धित हुने संभावना रहेको पोखरेलले बताए । त्यसका लागि बजारबासी सबैले खवरदारी गर्न पनि उनले आग्रह गरेका छन् ।

बिपी चोकको दायाँबायाँ मात्र होईन, अन्य थुप्रै ठाउँ मुल नालामा जोडिने शाखा नालाहरुको अवस्था एकैखाले छ । मुख्य (गोल) चोकमा मिसिने दायाँबायाँ २ वटा, हिमाली लाईनका २ वटा जोड्ने नालाहरुको ‘ज्वाईन्ट’ स्थल उस्तै तरिकाले फोहोर र पानीले भरिएका छन् । स्थानीयले पानी फ्याँकेर, फोहोर फालेर ज्वाईन्ट ढलान गरे मात्र समस्या नहुने सुझाएका छन् ।

उता नाला निर्माण गर्दा घरको जगभन्दा अग्लो भएको बताउँदै यसले वर्षायाममा नालाको पानी घरभित्र छिर्ने समस्या आउने गुनासो पनि बजारबासीले गरेका छन् । गोल चोक–पिपल चोक खण्डको नाला बनाउँदा घरको जगभन्दा माथि गएको भन्दै स्थानीय नतन राईले यस्तो काम गर्न नगरपालिकालाई कसले सुझायो भन्दै प्रश्न गरे । गाईघाट बजार सुरुताका बनाइएका घरहरु भए पनि पछिसम्म स्तरोन्नति गर्दा फरक नपर्ने गरी सडकको सतहभन्दा २–३ फिट अग्लो जग बसाइएको राईले बताए ।

अन्य ठाउँमा स्थानीयको अवरोधका कारण घरको सतहभन्दा होचो बनाए पनि आफुहरुको लाईनमा सोझा साझा देखेर जगभन्दा अग्लो नाला बनाएको गुनासो राईको छ । ‘हिमाली लाईनमा उपमेयर महेश्वरी राईको घर पनि परेकाले सतह मिल्ने गरी नाला बनाइयो’ उनले गुनासो गरे ‘हाम्रोतिर भने कसैले भनेको ठेकेदारले सुनेनन् । यो नाला बनेपछि बर्खायममा फोहोर पानी घरभित्र पस्ने भयो ।’ पिपलचोक कमानसिंहको घरदेखि रत्न श्रेष्ठ, रुद्र श्रेष्ठ, एलम्बर एवान होटल हुँदै इन्फोटेक सेन्टर भएको भुपाल राउतसम्मको घरसम्मको नाला घरको जगभन्दा अग्लो बन्ने भएकोमा स्थानीय बेखुस छन् ।  

नगपालिकाका सहरी पूर्वाधार शाखा इन्जिनियर निर्मल चौधरीले नाला बनाउँदा केही कमी कमजोरी भएको भए ठेकेदारलाई भनेर सुधार गर्ने बताए । यसबारे अहिलेसम्म कसैले गुनासो नगरेको भन्दै इन्जिनियर चौधरीले बजारबासीको माग अनुसार काम गर्न निर्माण कम्पनी प्राविधिकलाई सुझाउने बताएका छन् । काम राम्रो भए नभएको हेर्न नगरपालिकाको अनुगमन टोली खट्ने बताउँदै उनले पछि समस्या आउने खालको काम गर्न नदिइने बताएका छन् ।  

त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोईरालाले बजारक्षेत्रको सबै राम्रो सकेसम्म राम्रो हुनुपर्ने भन्दै ठेकेदारलाई त्यही अनुसार गर्न लगाएको बताएका छन् । तर, मेयर र उपमेयर पनि आफ्नै वडाबासी भएको र आफुभन्दा माथिल्लो हैसियतका जनप्रतिनिधि भएकाले आफ्नो नियन्त्रणभन्दा बाहिर हुनसक्ने बताए ।

विश्वबैँकको झण्डै १ अर्ब ऋण सहयोगमा त्रिुयुगा नगरपालिका ११ गाईघाट बजारको टाउन प्लानिङका सडकसँग जोडेर १०, १२ र १३ नं. वडाका सडकहरु स्तरोन्नतिसहित उच्च गुणस्तरको कालोपत्रे गर्ने काम गरिरहेको छ । आशिस–आशिर्वाद-स्वामिनाराण्ण जेवीले ठेक्का लिएको १४.६ किलोमिटर सडकको काम ६७ करोडमा यही असार मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको इन्जिनियर चौधरीले बताएका छन् ।  

प्रकाशित: ३१ वैशाख २०८२ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App