सशस्त्र प्रहरी बलमा एक महिनादेखि सीमा सुरक्षा विभाग रिक्त भएको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको अनिवार्य अवकाशपछि सो विभाग रिक्त भएको हो।
भारत–पाकिस्तान द्वन्द्वका कारण सीमा क्षेत्रमा कडाई गरेको बेला सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग नै रिक्त भएको एक महिना पुग्न लागेको छ।
रिक्त एआइजी पदका लागि आठ जना नायव महानिरीक्षक (डिआइजी) ले आवेदन दिएका छन्। बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो।
आवेदन भर्ने मिति वैशाख २१ मै सकिएको छ। विगत १० दिनदेखि बढुवा समितिको बैठक बस्न सकेको छैन। गृह सचिव गोकर्णमणी दुवाडी श्रीलंका भ्रमणमा गएका कारण पनि तत्कालै बढुवा समितिको बैठक बस्न नसकेको गृह मन्त्रालयले जनाएको छ।
अहिले गृह सचिवकै अध्यक्षमा कोशी प्रदेशमा सुरक्षा गोष्ठी चलिरहेको छ। उनी विदेशबाट आएको पनि तीन दिन बितिसकेको छ।
डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले एआइजी बढुवाका लागि आवेदन दिएका छन्। आठ जनाको आवेदन परे पनि गिरी र ठाडामगरबीच चर्को प्रतिस्पर्धा देखिएको छ।
प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमताको आधारमा बढुवा गर्ने सहमति भइसकेको भएपनि बढुवामा भने ढिलाइ भएको छ। बढुवामा ढिलाइ हुँदा आर्थिक चलखेलको आशंका समेत बढेको छ। ‘बढुवामा बिचौलियाहरूको प्रवेश नहोस् भन्ने चाहाना हो तर बढुवामा ढिलाइ हुँदा आशंका उत्पन्न भएको छ’, सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो।
नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएकाहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन्।
यसैगरी नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रको डिआइजीमा पुग्न सफल लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन्। यस्तै, सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआईजीको लागि आवेदन दिएका छन्। सोही बेसिकका दीपेन्द्र शाह र पुरुषोत्तम थापाले भने आवेदन दिएका छैनन्।
३० वर्षे सेवा अवधिका कारण एआईजी गौतम २ वैशाखको रातिदेखि अनिवार्य अवकाशमा गएका थिए। बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए विभिन्न मितिमै डिआइजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ।
अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार तय हुन्छ। यसका कारण पनि बढुवा निकै पेचिलो बनेको छ। विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन्। त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एक जना आइजिपी बन्ने छन्।
आवेदन भर्ने आठ जनामध्ये गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको गत पुस २२ गते मात्रै एक वर्ष म्याद थप गरिएको थियो। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डिआइजीको पदावधि चार वर्षको हुन्छ।
तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डिआइजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थाअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो। उनीहरू एआईजीमा बढुवा नभए आगामी २१ पुसमा डिआइजीबाटै अवकाशमा जानेछन्।
यस्तै, नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर एआईजीजस्तो विशिष्ट श्रेणीको पदमा पुग्न आवेदन दिएका डिआइजी सिंह एसपी हुँदा रेशमलाल चौधरी मुछिएको टीकापुर काण्डमा जोडिएका व्यक्ति हुन्।
त्यस दिन प्रदर्शन हुँदा टीकापुर गणबाट उनीसँगै निस्किएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको निधन भएको थियो। त्यस दिन आठ सुरक्षाकर्मी र एक जना नाबालकको निधन भएको थियो।
प्रकाशित: ३१ वैशाख २०८२ १४:४४ बुधबार





