जुम्लाको हिमा गाउँपालिका औपचारिक रूपमा बालविवाहमुक्त गाउँपालिका घोषित भएको छ।
मंगलबार हिमा गाउँपालिका–६ नम्बर वडालाई बालविवाहमुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई नै बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको हो।
हिमा गाउँपालिका जुम्लाकै पहिलो बालविवाहमुक्त स्थानीय तह बनेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए। उनले बालविवाह न्यूनीकरणका लागि स्थानीय समुदाय, आमा समूह, किशोरकिशोरी, धार्मिक अगुवा, पुरोहित लगायत सबैको सक्रिय सहकार्यले यो उपलब्धि सम्भव भएको सुनाए।
‘कुनै बेला हाम्रो गाउँमा ७० प्रतिशतभन्दा बढी बालविवाह हुने अवस्था थियो,’ अध्यक्ष शाहीले भने, ‘तर अहिले त्यो दर शून्यमा झरेको छ। अब हाम्रा किशोरकिशोरीहरु स्वयं सचेत छन्। बालविवाह गराउँदैनन्, हुन पनि दिँदैनन्।’
जिल्लाभर ८ स्थानीय तह (१ नगरपालिका र ७ गाउँपालिका) र ६० वटा वडामध्ये हालसम्म १४ वटा वडा मात्र बालविवाहमुक्त घोषणा भएका छन्।
कानुनी व्यवस्था अनुसार, २० प्रतिशतभन्दा कम बालविवाह हुने अवस्था पुगेपछि सम्बन्धित तहलाई बालविवाहमुक्त घोषणा गर्न पाइन्छ। हिमाले उक्त मापदण्ड पूरा गरी यो सम्मान प्राप्त गरेको हो।
बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले सन् २०१८ देखि अभियान सञ्चालन गर्दै आएको छ। सो क्रममा अभिभावक सचेतना, किशोरी शिक्षा, सामाजिक संवाद, आमा समूह तथा युवाक्लबको पहल, बालविवाह बहिष्कार जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए।
बालविवाह गर्ने वा गराउनेलाई सरकारी सेवाबाट बञ्चित गर्ने र सामाजिक बहिष्कारसम्मका उपाय पनि अपनाइएको थियो।
अध्यक्ष शाहीले आगामी दिनमा बालविवाहमुक्तको हैसियत कायम राख्न निरन्तर सचेतना र निगरानी आवश्यक रहेको उल्लेख गरे। ‘हामीले अहिलेको उपलब्धिलाई टिकाइ राख्न सबैको सहयोग र समन्वयमा निरन्तर अभियान जारी राख्नेछौँ,’ उनले भने।
प्रकाशित: ३० वैशाख २०८२ १९:२९ मंगलबार