१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सिदिङ्वामा निःशुल्क एम्बुलेन्स सेवा

सिदिङ्वा गाउँपालिकाले प्रसुति सेवाका लागि बर्थिङ सेन्टरसम्म बिरामी लैजान एम्बुलेन्स भाडा निःशुल्क गरेको छ। कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि २०७७ संशोधन गरी यो निर्णय गरेको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताए।  

हरित अभियानलाई अघि बढाउन गाउँपालिकाले वृक्षरोपण र रोपिएको क्षेत्रको व्यवस्थापन गर्ने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा पालिकाभरिका टोल विकास संस्थालाई १ हजारका दरले विभिन्न प्रजातिका बिरुवा उपलब्ध गराइने छ। टोल विकास संस्थाले सार्वजनिक स्थानमा बिरुवा रोप्ने र हेरचाह गर्ने जिम्मेवारी पाएका छन्। सिदिङ्वा गाउँपालिकामा १४ वटा टोल विकास संस्था छन्। बिरुवा रोपण असार १५ सम्म सम्पन्न गर्न समयसीमा तोकिएको छ।  

गाउँपालिकाले २०८२ जेठ १५ देखि १७ सम्म सिदिङ्वा महोत्सव आयोजना गर्ने भएको छ। सिदिङ्वा धाम र पालिकाका पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको अध्यक्ष राईले बताए।  

गाउँपालिकाले बेरुजु फछर्योटलाई प्राथमिकता दिएको छ। आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम ९० को उपनियम १ र ३ अनुसार असुल उपरको प्रक्रिया अघि बढाइने छ। प्रमाण पेश गर्नेको हकमा आवश्यक प्रमाणसहित फछर्योट प्रक्रिया अगाडि बढाउन प्रशासनलाई निर्देशन दिइएको छ।  

गाउँपालिकाले जेठ १ देखि सडक हेरालुलाई सम्बन्धित क्षेत्रमा नियमित कामका लागि परिचालन गर्ने भएको छ। नोरुङ्गा भन्ज्याङमा साप्ताहिक हाटबजार सञ्चालनका लागि पहल गर्ने निर्णय पनि भएको छ। पाँच शैयाको आधारभूत अस्पताल निर्माणको अवरुद्ध प्रक्रिया अघि बढाउन संघ र प्रदेश सरकारसँग सहयोग माग्दै जग्गा व्यवस्थापन र अन्य कामको अगुवाइ गाउँपालिकाले गर्ने भएको छ।  

कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयका लागि भाषा तथा लिपि संरक्षण कार्यविधि २०८२ र सिदिङ्वा गाउँपालिकाको विद्यालय सुपरीवेक्षण, अनुगमन तथा शिक्षण पेशागत सहयोग कार्यविधि २०८२ पारित गरेको छ। यी कार्यविधिले भाषा शिक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने अध्यक्ष राईले बताए।

प्रकाशित: ३० वैशाख २०८२ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App