१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पूर्वमन्त्री गुरुङका परिवारद्वारा गुम्बालाई १ लाख २५ हजार सहयोग

पूर्वमन्त्री स्वर्गीय सूर्यमान गुरुङका परिवारले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

२५ सय ६९औं बुद्धजयन्तीको अवसरमा गरिएको एक कार्यक्रममा बुद्धको मूर्तिसहित उक्त नगद सहयोग गरेका हुन्। पूर्व श्रम तथा रोजगार र सामान्य प्रशासन मन्त्री गुरुङका श्रीमती र छोराछोरीले उक्त सहयोग गर्दै बुद्धजयन्ती कार्यक्रमको सम्पूर्ण खर्च समेत व्यहोरेका छन्। जेठा छोरा इन्द्रमान गुरुङले ताप्लेजुङवासीले नै आफ्ना बुवालाई राजनीतिका लागि प्रेरित गरेकाले आफूहरूले पनि जिल्लावासीलाई सकेको सहयोग गरेको बताए।

गुरुङले भने, ‘बुवालाई जिल्लावासीले सबथोक दिए। त्यही भएर हामीले जे–जति सक्छौं, समाजलाई उपलब्ध गराउने प्रतिज्ञा गर्छौ।’ गुरुङ सादगी जीवन र स्वच्छ छविको राजनीतिमा कहलिएका व्यक्ति हुन्। स्वर्गीय गुरुङका परिवारले दिएको सहयोग रकम निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बाको पुनःनिर्माणमा खर्च गरिने बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष भरतकुमार गुरुङले जानकारी दिए।

गुम्बाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरप्रमुख अमिर मादेनले सबै समुदाय र धर्मको रक्षा गर्न नगरसरकार प्रतिबद्ध रहेको बताए। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१औं शताब्दीमा बुद्धको उपदेश र मार्ग पछ्याउनेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको बताए।

कार्यक्रममा साहित्य कार्यक्रम पनि समावेश गरिएको थियो। लेकाली कान्छा मुक्कुम, प्रजिन हाङवाङ, खगेन्द्र कार्की, होमप्रसाद दाहाल, भरतकुमार गुरुङ, लीला आँसु, सन्देश कालीकोटे, विनिता लिम्बूलगायत एक दर्जन सर्जकले कविता वाचन गरेका थिए।

विक्रम सम्वत् १९९८ साल वैशाख १० गते जन्मिएका गुरुङको २०८१ साल वैशाख २५ गते निधन भएको थियो। २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा गुरुङ कांग्रेसको प्रचारप्रसार विभागको जिम्मेवारीमा थिए। गुरुङले २०१८ मा नेपाली कांग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए। गुरुङको नेतृत्वमा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी थाना कब्जा भएको थियो। प्रहरी थाना कब्जापछि त्यही बेलादेखि भूमिगत भएका गुरुङ भारत निर्वासनमा बसेका थिए। २०३६ सालमा आममाफी पाएपछि गुरुङ नेपाल फर्किएका थिए।

२०३६ सालमा भएको कांग्रेस भेलामा एउटा समूह फुटेर पञ्चायतमा भाग लिने पक्षमा उभियो। गुरुङ सोही समूहमा रहेर पञ्चायत राजनीतिमा सक्रिय भए। गुरुङ २०३९ सालदेखि २०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको (हालको जिल्ला समन्वय समिति) सभापति थिए। २०४६ सालमा प्रजातन्त्र आएपछि कांग्रेसमै बसेर राजनीतिलाई निरन्तरता दिए। २०६४ सालको निर्वाचनमा माओवादीका राम कार्की (पार्थ)लाई पराजित गरेर गुरुङ ताप्लेजुङको निर्वाचन क्षेत्र नं १ बाट संविधान सभाको सदस्य बने।

२०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएका गुरुङ २०७३ सालमा एक पटक श्रम तथा रोजगार मन्त्री तथा एक पटक स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री बने। उनी लामो समयसम्म नेपाली कांग्रेसको ताप्लेजुङ सभापति बनेका थिए। कांग्रेसको केन्द्रीय सदस्य समेत भएका गुरुङ कांग्रेसको भातृ संस्था लोकतान्त्रिक जनजाति महासंघका पूर्व केन्द्रीय सभापति समेत भएका थिए।

प्रकाशित: ३० वैशाख २०८२ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App