८ असार २०८२ आइतबार
image/svg+xml
समाज

सिस्ने-साइगाउँ सडकखण्ड दैनिक आठ घन्टा बन्द गरिने

कर्णाली राजमार्गअन्तर्गत दैलेखको सिस्ने-साइगाउँ सडक खण्ड दैनिक आठ घन्टा सवारी आवागमन पूर्णरूपमा बन्द हुने भएको छ। यही बाटो हुँदै आवतजावत गर्ने अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरालगायतका नागरिकलाई सास्ती हुने भएको हो। 

जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको हो। प्रशासनका अनुसार बिहान आठ बजेदेखि १२ बजेसम्म र दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द हुने छ।

सडक डिभिजन कार्यालय सुर्खेतबाट ठेक्का सम्झौता भई निर्माणाधीन रहेको यस सडक खण्डमा आवश्यक संरचना निर्माण तथा मर्मत–सम्भारका लागि सवारी साधन आवतजावत रोकिएको हो। निर्माण कार्य सहजरूपमा सञ्चालन गर्न निश्चित समयावधिमा राजमार्ग बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ। सडक बन्दले दैनिक यात्रामा असर पार्न सक्ने भएकाले यात्रु तथा सवारी साधन चालकलाई वैकल्पिक मार्गका रूपमा रामघाट–साइगाउँ खण्ड हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रशासनले निर्माण कार्य सम्पन्न नभएसम्म यस्तो व्यवस्था लागु गरिएको भन्दै यात्रुलाई असुविधा भएमा क्षमायाचनासमेत गरेको छ। यस खण्डमा यात्रा गर्न चाहनेले उल्लिखित समय र सूचनालाई ध्यानमा राखी आफ्नो योजना बनाउन प्रशासनले सुझाएको छ। कर्णाली राजमार्ग हुँदै यात्रा गर्ने नागरिकलाई दिउँसोको समय सास्ती दिनुभन्दा कर्णाली राजमार्ग रातिको समय सधैं बन्द गर्ने भएकाले निर्माण व्यवसायीलाई रातिको समय काम गर्न लगाउनुको सट्टा प्रशासनले ठेकदारको पक्षमा निर्णय गरेको स्थानीयको भनाइ छ।

राजमार्ग बन्द हुँदा रारा घुम्न आएका यात्रुलाई बढी सास्ती भएको छ। कर्णाली राजमार्ग दुई लेनको बनाउन सरकारसँग स्थानीयको माग गरेका छन्। मध्य पहाडी राजमार्गको लामो सडक प्रयोग गर्दा गाडी भाडा पनि बढ्ने व्यवसायीको भनाइ छ। कर्णाली राजमार्गको डुंगेश्वरदेखि पाल्ताडा खण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने भए पनि त्यहाँको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालयले ध्यान दिएको छैन।

प्रकाशित: ३० वैशाख २०८२ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App