सडक विभागले काठमाडौं उपत्यकाका सडकबाट हात झिक्दै चक्रपथभित्रका केही सडक काठमाडौं महानगर र ललितपुर महानगरलाई दिन प्रस्ताव तयार गरेको छ। उपत्यकाको चक्रपथभित्र पर्ने सडक काठमाडौं र ललितपुर महानगरले लिन चाहेमा दिने सडक विभागले तयारी गरेको हो।
उक्त प्रस्ताव विभागले केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लग्ने तयारी भएको विभागका प्रवक्ता अर्जुन अर्यालले बताए। उनका अनुसार उपत्यकाभित्र पर्ने एक सय ४७ किमि सडक उपत्यकाकै सक्षम स्थानीय तहले लिन चाहेमा ती स्थानीय तहलाई दिने गरी प्रस्ताव विभागले तयार गरेको छ। काठमाडौं सडक डिभिजनले हाल चार सय ७२ किमि सडक हेर्दै आएको छ। ‘चक्रपथभित्र रहेको सडकमध्ये एक सय ४७ किमि सडकको जिम्मेवारीबाट हामी पन्छिन खोजेका छौं’, संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए।
पहिलो चरणमा विभागले काठमाडौं र लतितपुर महानगरलाई हस्तान्तरण गर्ने विभागको तयारी रहेको न्यौपानेले बताए। ‘त्यसपछि क्रमश: अन्य सडक पनि अन्य स्थानीय तहलाई हस्तान्तरण गर्दै जाने हाम्रो योजना छ’, उनले भने, ‘हामीले हेर्ने भनेको राष्ट्रिय राजमार्ग मात्र हो। अब त्यहीअनुसार योजना बनाएर अगाडि बढ्छौं।’
पोहोर साल न्युरोडमा सडक भत्काएको विषयलाई लिएर काठमाडौं सडक डिभिजन र काठमाडौं महानगरबिच विवाद भएको थियो। त्यसपछि काठमाडौं सडक डिभिजनले आफूले हेर्दै आएको सडकमा सवि भनेर चिनो लगाउने गरेको छ। ‘न्युरोड विवादपछि विभागले हेर्दै आएको सडक किन स्थानीय तहलाई नदिने भन्ने निष्कर्षमा पुगेका हौं’, न्यौपानले भने।
काठमाडौं उपत्यकामा रहेका सडकको स्तरोन्नति तथा मर्मत–सम्भारका नाममा हाल ३० भन्दा बढी निकाय छन्, तर सडकको अवस्था भने बिजोक छ। जहाँतहीं खाल्डाखुल्डी छन्, जहाँ यात्रुले दिनदिनै सास्ती भोग्नु परिरहेको छ। सडक विभागमातहतमा काठमाडौं, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै सडक डिभिजन कार्यालय रहेका छन्। यसैगरी उपत्यकामा सडक विस्तार तथा विकास गर्ने उद्देश्यबाट सडक विभागमातहत अर्को छुट्टै कार्यालय पनि खोलिएको छ।
यसैगरी काठमाडौं, ललितपुर महानगरलगायत उपत्यकाका नगरपालिका तथा गाउँपालिकाले उपत्यकाका सडकको मर्मत–सम्भार तथा स्तरोन्नतिको जिम्मेवारी लिएका छन्। उपत्यकामा २१ वटा नगरपालिका तथा गाउँपालिका छन्। यसबाट उपत्यकाका सडक हेर्न २१ वटा स्थानीय, एउटा प्रदेश र एउटा केन्द्र गरी २३ वटा सरकार छन्। ती तीन तहका सरकारमातहतमा ३० वटाभन्दा बढी कार्यालय कार्यरत छन्। काठमाडौं महानगरले हाल एक हजार चार सय किलोमिटर सडक हेर्दै आएको छ।
प्रकाशित: ३० वैशाख २०८२ ०८:१६ मंगलबार