१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु

<br>

प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ।

विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो।

रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ। एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमका अवसरमा सदरमुकामको हरमटारी चोकबाट गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए।

‘‘मन्दिरमा दैनिक रूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २२ वर्षदेखि यसलाई महोत्सवका रूपमा अगाडि बढाउन थालिएको छ। महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ”, उनले भने।

गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेको छ। सोही विश्वासका साथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको हो। चामलको पीठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला घ्यूमा मिसाएर पकाइन्छ।

तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादका रूपमा एउटा रोट, एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाइँ लड्न सकेको भन्ने भनाइसमेत रहेको छ। यसैले रोटलाई शक्तिवर्द्धक खाद्य परिकारका रूपमा पनि लिने गरिएको छ।

संयोजक अकेलाका अनुसार यहाँ महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको छ। यस पटक ५० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ।

प्रकाशित: २९ वैशाख २०८२ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App