काठमाडौंको सुन्धारामा सोमबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–२२ स्थित काठमाडौं मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बसोबास गर्दै आएका तनहुँ आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोष कुमार गुरुङको ज्यान गएको हो।
गुरुङलाई गम्भीर घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालक घाइते भएका छन्। उनीहरुको पनि राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
प्रकाशित: २९ वैशाख २०८२ १७:१७ सोमबार





