१ असार २०८२ आइतबार
image/svg+xml
समाज

वनको छातीमा डोजर ‘ताण्डव’ : सिडिओको आँखा झुक्याउँदै डोजर चलाउँदै

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ अन्तर्गत काक्राबारीस्थित सामुदायिक वन क्षेत्र अतिक्रमण गर्दै अवैध रूपमा सञ्चालनमा रहेको प्लटिङ्ग कार्य प्रमुख जिल्ला अधिकारी (सिडिओ) को निर्देशनपछि पनि यथावत् जारी रहेको छ।

स्थानीयको उजुरीपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा सुरक्षा र वन टोलीसहित प्लटिङ्ग स्थलमा गरिएको अनुगमनमा तत्काल काम रोक्न निर्देशन दिइए पनि डोजर सञ्चालन यथावत् रहेको स्थानीयको आरोप छ।

साविक नंखेल गाविस–४ क र ख मा पर्ने घिसिङ डाँडामा सञ्चालनमा रहेको प्लटिङ्गले करिब २५ रोपनी सामुदायिक भित्री वन मिचेको भन्दै स्थानीय आक्रोशित छन्।

उनीहरूका अनुसार दैनिक रूपमा ३० भन्दा बढी डोजर र स्काईभेटर प्रयोग गरी वन, खोल्साखोल्सी, बाटो र खानेपानीको पाइपलाइन समेत मासिँदै आएको छ।

स्थानीयले प्रयोग गर्दै आएका मूल, खोला, सिँचाइ कुलो र खानेपानी पाइपलाइन समेत नष्ट भई ६० घरधुरी खानेपानीबाट वञ्चित भएको संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए।

‘‘वनको जैविक विविधता, पारिस्थितिक सन्तुलन र स्थानीयको दैनिक जीवनमै असर पर्ने गरी डोजर चलाइएको छ,’’ तामाङले भने, ‘‘सयौं रुख बिना अनुमति काटिएको छ भने डाँडो सम्याउँदा बाढीपहिरोको जोखिमसमेत बढेको छ।’’

अनुगमन टोली पुग्ने जानकारी आयोजनाका प्रतिनिधिले पहिले नै पाउने र टोली पुग्दासम्म काम रोकिने तर त्यसपछिको दिनदेखि फेरि डोजर चल्ने गरेको स्थानीय बुद्ध लामाले बताए।

प्लटिङ्ग कार्य ‘निक भुजिकिक हाउजिङ्ग कम्पनी’ ले सञ्चालन गरिरहेको खुलेको छ। कम्पनीले स्थानीयको सहमति विना निजी जग्गा खनेर घरसमेत स्थानान्तरण गर्न बाध्य बनाएको पीडितको भनाइ छ।

सामुदायिक वन तथा सार्वजनिक सम्पत्ति अतिक्रमण गरी प्रकृति र जनजीवनमा गम्भीर असर पुर्‍याउने काम तत्काल रोक्न, संलग्न कम्पनीमाथि छानबिन र कारबाही गर्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, सूर्यविनायक नगरपालिका र वडा कार्यालयमा ज्ञापनपत्र बुझाइसकेका छन्।

तर, अहिलेसम्म कुनै ठोस कदम नचालिएको भन्दै स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरिरहेको जनाएका छन्।

 

प्रकाशित: २८ वैशाख २०८२ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App