‘हाप्सिलो’ लाटोकोसेरो प्रजातिको एक अत्यन्तै दुर्लभ र महत्त्वपूर्ण चरा हो, जसले वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा अमूल्य भूमिका खेल्छ। हालै यसको तस्बिर ललितपुरको दक्षिणी भेगमा खिचिएको छ, तर लोपोन्मुख अवस्थामा रहेको हुँदा यसको ठ्याक्कै वासस्थान गोप्य राखिएको छ।
हाप्सिलोजस्ता प्रजातिहरूको अस्तित्वले हाम्रो वातावरणीय स्वास्थ्यको सूचकका रूपमा सकारात्मक सन्देश दिन्छ तर दुर्भाग्यवश यिनीहरूको संख्या भने दिनानुदिन घट्दै गएको छ, जुन चिन्ताको विषय हो।
हाप्सिलोको अस्तित्वमाथि अनेकौं खतहरू उभिएका छन्। तीमध्ये मानव अतिक्रमण, वन विनाश, जलवायु परिवर्तन र प्राकृतिक वासस्थानको विघटन मुख्य कारक हुन्।
मानव विकास र द्रूत सहरीकरणले वन क्षेत्र सीमित बनाइदिँदा यस्ता दुर्लभ प्रजातिहरूको जीवन संकटमा पर्दै गएको छ। दीर्घकालीन संरक्षण सुनिश्चित गर्न हामीले मानवीय हस्तक्षेपलाई यथासम्भव घटाउनुका साथै यिनको प्राकृतिक आवासको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ। साथै, प्रभावकारी संरक्षण कार्यक्रमहरू सञ्चालन गर्दै स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै जरुरी छ।
हाप्सिलोको जीवनशैली र आहार
हाप्सिलो सामान्यतः निशाचर चरा हो, अर्थात् यो रातको समयमा बढी सक्रिय हुन्छ। यसको आहार मुख्यतः साना जनावरहरूमा आधारित हुन्छ। हाप्सिलोले मुसा, भ्यागुता, छेपारो, सर्प, गँगटो, ठुला किरा तथा साना चरासमेत सिकार गरेर आफ्नो भोजन आवश्यकताको पूर्ति गर्छ। यिनीहरू सिकार गर्ने क्रममा अत्यन्त तीव्र र सटिक हमला गर्ने क्षमताका कारण कुशल सिकारीका रूपमा परिचित छन्।
हाप्सिलोको वासस्थान
हाप्सिलोको प्राकृतिक वासस्थान जंगलका ठुलाठुला रूख, चट्टानी भिरालो भूभाग तथा मानव गतिविधि न्यून रहेका शान्त क्षेत्रहरू हुन्। दिन र रातमा हाप्सिलोको बसाइमा भिन्नता देखिन्छ– दिनको समयमा यिनीहरू बाक्ला रुखका फेद वा भिरालो चट्टानमा लुकेर आराम गर्छन् भने रातको समयमा सिकारका लागि सक्रिय हुन्छन्। यिनीहरूको वासस्थान चयनमा कम अवरोध र उच्च सुरक्षा प्राथमिकता हुन्छ, जसले मानव प्रभावबाट जोगिन सघाउँछ।
सुरक्षा र संरक्षणको पहल
हाप्सिलोलगायत अन्य लोपोन्मुख प्रजातिहरूको दीर्घकालीन संरक्षणका लागि विभिन्न उपायहरू अवलम्बन गर्नु अपरिहार्य छ। सबैभन्दा पहिला यिनीहरूको प्राकृतिक आवासको संरक्षण र पुनःस्थापना गर्नुपर्छ। त्यसपछि स्थानीय समुदायलाई जैविक विविधताको महत्त्वबारे सचेतना प्रदान गर्दै संरक्षण गतिविधिमा प्रत्यक्ष संलग्न गराउनु आवश्यक छ। साथै, वैज्ञानिक अनुसन्धान तथा अनुगमनमार्फत यस्ता प्रजातिको जनसंख्या स्थिति, व्यवहार र वासस्थान प्रवृत्तिबारे थप जानकारी संकलन गरी दिगो संरक्षण रणनीति विकास गर्नु पर्छ।
हाप्सिलोजस्ता दुर्लभ चराहरू प्रकृतिका अनुपम देन हुन्। यिनीहरूको अस्तित्वले मात्र नभई सम्पूर्ण पारिस्थितिक प्रणालीलाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पु¥याउँछ। आजका पुस्ताले यी जीवलाई संरक्षण गर्न सकेनन् भने भविष्यका पुस्ताले यिनीहरूलाई केवल किताब र तस्बिरमा मात्र देख्न पाउनेछन्। त्यसैले, अहिलेको अवस्थामा तिनको संरक्षणमा जुट्नु हाम्रो साझा जिम्मेवारी हो।
प्रकाशित: २७ वैशाख २०८२ ११:४९ शनिबार