पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सडक विस्तारका क्रममा चलिरहेको कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रारम्भमा सुस्त प्रगति भए पनि हाल निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको हो।
बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका अनुसार दाउन्ने खण्डको १३.३ किलोमिटरमा रहेका ९५ वटा कल्भर्टमध्ये ८३ वटा कल्भर्ट निर्माण कार्य सकिएको छ। बाँकी १३ वटा कल्भर्ट निर्माण पनि धमाधम भइरहेको आयोजनाले जानकारी दिएको छ।
कल्भर्ट निर्माण कार्य बर्खाअगाडि नै सक्ने लक्ष्य आयोजनाको छ। दाउन्ने खण्डमा छोटो–छोटो दूरीमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले यातायात आवागमनमा समस्या भए पनि कल्भर्ट निर्माण सम्पन्न भएपछि सहज हुने बुटवल नारायणगढ सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।
‘दाउन्नेमा ३० मिटरको दूरीमा पनि ठुलाठुला कल्भर्ट निर्माण गर्नुपर्ने छ। कल्भर्ट निर्माण एकदम कठिन हो। अब बर्खाअगावै काम सक्छौं’, उनले भने, ‘त्यसपछि काम तीव्र रूपमा अगाडि बढ्छ।’ दाउन्ने खण्डमा कल्भर्ट निर्माण सडक साँघुरो हुँदा जाम भइरहेको छ।
बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको पूर्वी खण्ड र पश्चिम खण्डमा एक सय तीनवटा कल्भर्ट बनाउने भनिएको थियो। पछि त्यसलाई परिमार्जन गर्दै ९५ वटामा झारिएको थियो। सबैभन्दा बढी पश्चिम खण्डमा सानाठुला गरी ६६ वटा कल्भर्ट रहेका छन्। त्यसमध्ये ५९ वटा कल्भर्टको निर्माण सम्पन्न गरिसकेको पश्चिम खण्डका सूचना अधिकारी शशांक मिश्रले जानकारी दिए।
‘हाम्रो भागको नौ किलोमिटरमा धेरै कल्भर्ट थिए। अब हामीले सातवटा कल्भर्ट निर्माण गर्न बाँकी छ। त्यसमा पनि काम सुरु भइसकेको छ’, उनले भने, ‘कल्भर्ट निर्माण छिटै सक्ने गरी अगाडि बढाएका छौं।’ दाउन्ने खण्डको पश्चिमतर्फ दुईवटा पुलसमेत छन्। पुल निर्माण नसकिएको उनले बताए।
यस्तै पूर्वी खण्डको चार किलोमिटरमा रहेका २९ वटा कल्भर्टमध्ये २३ वटाको निर्माण सम्पन्न भइसकेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए। ‘हामीले ३३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने थियो। पछि निर्माणका क्रममा २९ वटा निर्माण गरे पुग्ने भयो’, उनले भने, ‘अहिलेसम्म २३ वटा सकेका छौं। बाँकी चारवटाको आधा काम सकिएको छ। दुईवटाको भर्खर सुरु गरेका छौं। त्यो पनि छिटै सक्ने गरी काम अगाडि बढाएका छौं।’
बुटवल–नारायणगढ खण्डको एक सय १३ किलोमिटरमध्ये यात्रुले सबैभन्दा बढी सास्ती दाउन्ने खण्डमा भोग्ने गरेका छन्। विस्तारका क्रममा भत्काइएका सडकका कारण सामान्य पानी पर्दा पनि सवारी साधन चिप्लिएर सवारी आवागमन बन्द हुने गरेको छ। यस खण्डमा राती सवारी साधन बन्द गरेर निर्माण अगाडि बढाइएको समेत सूूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए।
राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घन्टा दाउन्ने क्षेत्रमा यातायात रोकेर काम भइरहेको छ। यस खण्डमा भित्तातर्फ कटिङ गर्न र बाँकी रहेको कामलाई बर्खाअगावै सम्पन्न गर्न सवारी आवागमन बन्द गरिएको उनले बताए। उनका अनुसार असारसम्ममा पूर्वीखण्डको ६५ किलोमिटरमध्ये एकतर्फी कालोपत्रे सम्पन्न गरिने छ। पश्चिम खण्डमा ३५ किलोमिटर सडक एकतर्फी कालोपत्र गरिसकिएको छ।
दाउन्ने क्षेत्रमा साउनसम्ममा एकतर्फी रूपमा सडक पिच गर्ने गरी तयारी गरिएको पश्चिम खण्डका सूचना अधिकारी मिश्रले जानकारी दिए। ‘अहिलेको समस्या दाउन्ने खण्डको १३ किलोमिटरमा हो। साउनसम्ममा ६ मिटर भए पनि दाउन्नेमा कालोपत्रे गछौं’, उनले भने।
यस खण्डमा साढे १२ मिटर फराकिलो कालोपत्रे हुँदै छ। समग्रमा हेर्द पश्चिम खण्डमा ७५ प्रतिशत काम भएको उनले बताए। वित्तीय प्रगति भने ५५ प्रतिशत भएको छ। अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माण भइरहेको छ।
१७ अर्ब रूपैयाँको लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ सम्म छ।
प्रकाशित: २७ वैशाख २०८२ ११:३७ शनिबार