सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ।
परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी ध्यानस्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो।
प्रदेश सरकारको ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा सङ्कलनबाट जुटाएको २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरी मौलिक गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ।
विभिन्न दाताले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणसहित मन्दिर र खानेपानी निर्माण गरेका छन्। समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले भने, ‘मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ।’
पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनर्निर्माण गरेका छन्। छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन्। रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ।
परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो। वस्तीबाट टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यानका लागि उपयुक्त मानिएको छ।
पूर्वाधार निर्माणपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले भने, ‘प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो।’ बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलामा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्थे।
स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए। कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन्।
प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमबाट दुई घण्टा पैदल वा सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ। रासस
प्रकाशित: २७ वैशाख २०८२ ०८:०७ शनिबार