चितवनको रत्ननगर नगरपालिका–१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति गुडिरहेको बसमा अचानक आगलागी भएको छ। पर्साबाट पिठुवातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति १०ः४५ बजेतिर आगलागी भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो ११ः०५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
घटनामा मानवीय क्षति नभए पनि बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आगलागी भएको बसका चालक तथा मालिक चितवनको कालिका नगरपालिका–९ शक्तिखोर निवासी ५२ वर्षीय कुलबहादुर रायमाझी रहेका छन्।
बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट पिठुवाबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ।
प्रकाशित: २७ वैशाख २०८२ ०७:२४ शनिबार