२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

गाईघाटमा अनुमति बिना पेट्रोल पम्प सञ्चालन

पम्पमा अनुगमन गर्दै टोली। तस्बिर : महेश्वर चामलिङ राई

सदरमुकाम गाईघाटका पेट्रोल पम्पहरू अनुमतिपत्र बिना सञ्चालन भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको टोलीले शुक्रबार गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो।

उपभोक्ताले अनियमितताको गुनासो गरेपछि प्रशासनले पम्पहरूको अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे नेतृत्वको टोलीमा जिल्ला प्रहरी नायब उपरीक्षक केदारमान दोङ, नापतौलका निरीक्षक सञ्जीवकुमार ठाकुर, घरेलु सहायक निरीक्षक प्रमोद यादव, घरेलु प्रतिनिधि र पत्रकार सहभागी थिए।

अनुअनुगमनका क्रममा बजारका दुई पम्पमा अनुमतिपत्र नभेटिएको टोलीले जनाएको छ। टोलीले गाईघाट, मोतिगडा र देउरीका एसके फ्युल सेन्टर, रियाज पेट्रोल पम्प, ऊर्जा फ्युल सेन्टर र सगरमाथा आयल डिपोको अनुगमन गरियो। अनुमतिपत्र नभेटिए पनि पम्पमा कामदार मात्रै भएकाले कागजात देखाउन नसकेको हुन सक्ने टोलीले जनाएको छ।

टोली संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले कामदारले अनुमतिपत्र सञ्चालकसँग रहेको भन्दै देखाउन नसकेको बताए। तेलको मात्रामा कुनै त्रुटि नभेटिएको पनि उनले बताए। अनुमतिपत्र र आवश्यक कागजात पेस गर्न नसकेका पम्पलाई सचेत गराइएको छ।

उदयपुरमा गाईघाटमा ४, बेलकामा ४, कटारीमा ४ र चौदण्डी बेलटारमा १ गरी १३ पेट्रोल पम्प सञ्चालनमा छन्। पम्पहरूले मूल्य घटबढ वा तेल लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गरेको गुनासो उपभोक्ताले गरेका छन्।

‘तेलको मूल्य फेरबदल भयो कि पम्पमा तेल छैन भन्ने बोर्ड झुन्ड्याइएको हुन्छ,’ उपभोक्ताको गुनासो छ, ‘तर भित्रभित्रै किनबेच भइरहेको हुन्छ। प्रशासनले नियमित र कडाइका साथ अनुगमन गरोस् भन्ने हाम्रो माग हो।’

तेल लुकाउने र मात्रामा तलमाथि गर्ने गुनासो बारम्बार आएकाले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताए। उपभोक्ताको हितका लागि नियमित अनुगमन गर्ने उनले प्रतिबद्धता जनाए।

प्रकाशित: २६ वैशाख २०८२ २०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App