७ असार २०८२ शनिबार
image/svg+xml
समाज

बुद्ध जयन्तीमा कपिलवस्तुमा प्रसूति उत्सव मनाइने

शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) मा २५६९ औं बुद्ध जयन्तीका अवसरमा शिशुबुद्धको शोभा यात्रा सहित प्रसूति उत्सव गरी मनाइने भएको छ ।

बुद्ध जयन्तीका अवसरमा प्राचीन कपिलवस्तुमा  विविध कार्यक्रमसहित ४ दिन सम्म भव्य रूपमा मनाइने भएको हो । बैशाख ३० गते बुद्धको क्रिडास्थल तिलौराकोटमा शिशुबुद्ध सहितको प्रसूति मंगल उत्सव गरिने भएको  हो ।

बुद्ध जयन्ती मूल समारोह समिति कपिलवस्तुका संयोजक गोपीकृष्ण शर्माले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । वैशाख ३० गते बेबी बुद्धको प्रतिमा शोभा यात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर “प्रसूति उत्सव” आयोजना गरिनेछ । यसका लागि विशेष टोली लुम्बिनी पुगेर बाजागाजासहित प्रतिमा ल्याउने कार्यक्रम रहेको शर्माले बताए । शिशु बुद्धको प्रतिमा जमुवार पुलबाट नगर भित्र्याइनेछ, जहाँ पञ्चेबाजा, पुष्प वर्षा र स्थानीय बाजागाजासहित प्राचीन राजप्रासाद तिलौराकोटसम्म पुर्‍याइनेछ ।

यसै क्रममा, वैशाख २७ गते रक्तदान कार्यक्रम हुनेछ भने २८ गते साँझ भगवान् बुद्ध पहिलो पटक तिलौराकोट आउँदा निग्रोधाराममा बसेको प्रसङ्गमा आधारित लघु नाटक देखाइनेछ । वैशाख २९ गते साँझ तिलौराकोटमा “पिस मेडिटेसन वाक” गरिनेछ । बजार क्षेत्रका मुख्य सडकहरूमा नेपाली तथा बौद्ध झन्डा राखी बुद्धमय वातावरण सिर्जना गरिने शर्माले बताए । जमुहरा पुल देखि तौलिहवाको मुख्य बाटोमा राष्ट्रिय झन्डा, बुद्ध भल्काउने झन्डा, र लुङदा राख्ने काम गरिएको छ । बुद्ध नगरीलाई बुद्धमय बनाइने शर्माले बताए ।  

प्रकाशित: २६ वैशाख २०८२ १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App